हाईलाइफका सञ्चालकले किर्ते विवरण बुझाएको आशंका

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / मोरङको बुढिगंगा–३ स्थित हात्तिमुढामा सञ्चालित सुरभी पोलिमर्स प्रा.लि. उद्योगले उत्पादन गर्ने हाईलाइफ ब्राण्डको चप्पल कारखाना उद्योगमा कार्यरत मजदुरको विवरण किर्ते बनाएर श्रम कार्यालयमा बुझाएको खुलेको छ ।

मजदुरलाई न्यूनतम पारिश्रमिक नदिने गरेको उद्योगका सञ्चालकले श्रम कार्यालयमा पूर्ण रुपमा पारिश्रमिक दिएको विवरण बुझाएका हुन् । मजदुरकै उजुरीको आधारमा असोज पहिलो हप्ता उद्योगमा अनुगमन गरिएको थियो ।

अनुगमनपछि मजदुरको विवरण, हाजिरी पुस्तक र तलव विवरण माग गरेको श्रम कार्यालयमा किर्ते तलवी विवरण बनाएर सञ्चालक विकास र विनय चौधरीले बुझाएका हुन् ।

मजदुरलाई प्रतिघण्टा ३० रुपैँयाको दरले पारिश्रमिक दिने गरेको उद्योगले न्यूनतम पारिश्रमिक लागु हुनु अगावैदेखि सरकारले तोकेको तलव दिएको विवरण श्रम कार्यालयमा पेश गरेका छन् । साउनदेखि सरकारले निर्धारण गरेको १३ हजार ४५० रुपैँया तलव लागु भएपनि उद्योगले भने जेठ महिनादेखिनै दिइएको विवरण श्रम कार्यालयमा बुझाएको छ ।

पाँचजना बिचौलिया खडा गरेर ठेकेदारी प्रथा चलाएको उद्योगले मजदुरलाई पारिश्रमिक नदिने गरेको पाइएपछि विवरण मागिएको थियो । विवरणमा मजदुरले जेठ महिनादेखिनै १३ हजार भन्दा माथि पारिश्रमिक पाउँदै आएको उल्लेख छ । तर, मजदुरलाई थाहै नदिई उद्योगका सञ्चालकले नक्कली विवरण श्रम कार्यालयमा पेश गरेको पाइएको छ ।

असोज पहिलो हप्ता श्रम कार्यालयमा मजदुरले तलव नपाएको गुनासोसहितको उजुरी दर्ता गरेका थिए । श्रम कार्यालयका प्रतिनिधि तथा ट्रेड यूनियनसहितले त्यसपछि अनुगमन गर्दा मजदुरलाई बन्धक बनाउने कोशिस समेत गरिएको थियो ।

अनुगमन टोलिसँग भेट्न बन्चित गराउने प्रयास विफल भएपछि मजदुरले आफ्ना गुनासा राख्दै श्रम शोषण गर्ने गरेको बताएका थिए ।

त्यसपछि उद्योगसँग मजदुर विवरणसहित उनीहरुलाई दिएको पारिश्रमिकको भौचर तथा भरपाई, हाजिरी पुस्तिका माग गरेको श्रम कार्यालयलाई छल्दै सञ्चालकले किर्ते विवरण पेश गरेको पाइएको छ ।

मजदुरलाई जेठ महिनादेखि तोकिएको पारिश्रमिक दिइएको तलवी भरपाई बुझाएपछि सञ्चालक र मजदुरबीच कुरा बाझेको छ । श्रम कार्यालय कोशीका प्रमुख मणिनाथ गोपका अनुसार लागु नभएको न्यूनतम पारिश्रमिक दिएको तलवी विवरण बुझाउनुले आशंका उब्जाएको छ ।

सामाजिक सुरक्षा ऐन २०७४ र श्रम ऐन २०७४ ले योगदानमा आधारित सेवा र सुविधा प्रदान गर्नुपर्ने हुन्छ । श्रम ऐनको दफा (५२) मा सञ्यकोष, दफा (५३) उपदान, दफा(५४) औषधी उपचार खर्च, दफा (५५) मा दुर्घटना बिमा र दफा (१० र ११) मा रोजगार सम्झौताको स्पष्ट प्रावधान उल्लेख गरिएको छ । तर, पोलिमर्स प्रा.लि.ले तोकिएको न्यूनतम पारिश्रमिक समेत नदिएको भन्दै मजदुरहरुले श्रम कार्यालयसँग न्यायको माग गर्दै उजुरी दर्ता गरेका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved