संघ भित्रको केमेष्ट्रि तोडिएका की जोडिएला ?

  • प्रकाशित मितिः आश्विन, 26, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर/ विराट महोत्सव–२०७९ आयोजना गरिपछि देशकै पहिलो उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ भित्र टुटेको भावनालाई जोड्ने लक्ष्यसहित ‘विराट ट्रेड एक्स्पो–२०७५’ आगामी पौषमा आयोजना गरिने भएको छ ।

पाँचवर्ष अगाडी आयोजित महोत्सवले मोरङ व्यापार संघ भित्र आवद्ध व्यवासायीलाई एकतावद्ध बनाई रहन सकेन । आयोजना गर्ने पक्षबीचकै टुटेको भावनाले संघको नेतृत्व लिने होडबाजीले गुट र उपगुटमा विभाजन गरिदियो । अझै यतिसम्म भयो; व्यापार संघ भित्र चुनावी प्रतिस्प्रर्धाले नेतृत्व स्थापित ग¥यो । र, एउटा समूह बाहिरियो । जसका कारण मोरङ व्यापार संघलाई उद्योग वाणिज्य महासंघले हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदियो ।

देश संघीय संरचनामा गईसकेपछि बनेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति अहिले सक्रियताको उत्कर्षमा छ । वैधानिक रुपमा केन्द्रीय वाणिज्य महासंघले समेत उसैलाई प्रतिनिधित्व गराउँदै आएको छ । ओझेलमा परेको मोरङ व्यापार संघ वाणिज्य महासंघको सामिप्यता खोज्दैछन् ।

यहि, धरातलमा आगामी पौष ६ गतेदेखि १४ गतेसम्मको नौ दिने विराट ट्रेड एक्स्पो आयोजनाको तयारीमा मोरङ व्यापार संघ लागेको छ । धनी संस्थाको रुपमा मानिदैं आएको उद्योगी–व्यवसायी संम्मिलित मोरङ व्यापार संघले यसवर्षको एक्स्पोबाट संस्थाको नाममा ३० लाख रुपैँया आम्दानी बाँध्ने तयारी गरिरहेको छ ।

विराटनगरमा आयोजना हुने विराट ट्रेड एक्स्पोले संघ भित्रको केमेष्ट्रि तोड्ने र जोड्ने दुवै काम गर्न सक्ने आशंका यस पटक समेत गरिएको छ । यस्ता बृहत मेला र एक्स्पो आयोजनामा नेतृत्व लिनु र नेतृत्व कौशल देखाउनु संघको नेतृत्वको उत्तराधिकारी प्राप्त गर्नु समेत मानिन्छ ।

यहि उत्तराधिकारी जन्माउने एक्स्पोको संयोजन गर्ने जिम्मेवारी पाएर भूमिका निर्वाह गर्न नपाएको झोंक यस अगाडी संघ भित्र फेरिसकिएको छ । जसका कारण संघ इतिहासकै विवादित र विभाजित समेत हुन पुगेको थियो ।

स्वदेशी तथा विदेशी लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता र उपभोक्ता समेट्न विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको संघका अध्यक्ष पवन सारडाले बताएका छन् ।
प्रदेश १ लाई व्यापारिक तथा औद्योगिक क्षेत्रको रुपमा अन्तराष्ट्रियस्तरसम्म पहिचान गराउने उद्देश्य राखिएको थप प्रष्ट्याउँदै सारडाले भने–एक्स्पोलाई अन्तराष्ट्रियस्तरको बनाउन भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता समेतलाई भित्र्याउने छौं ।

बृहत र अन्तराष्ट्रियस्तरको बनाउन आयोजनाको तयारी थालिएको एक्स्पोमा नेपालका घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन प्रवद्र्धनदेखि विदेशका वस्तु समेत स्टलमा रहने दावी गरिएको छ ।

नेपालमा औद्योगिक विकासको संभावना देखाउने उद्देश्य राखेर विदेशी लगानी भित्र्याउने योजना बनाइएको एक्स्पोमा २ सय ७५ स्टल राखिनेछ । तीनलाखले अवलोकन गर्ने दावी गरिएको एक्स्पोमा ३० करोडको कारोबार हुने अपेक्षा छ । पहाडी जिल्लाका खनिजजन्य र कृषिजन्य वस्तुलाई विशेष आकर्षकको रुपमा एक्स्पोमा राखेर विदेशसम्म प्रचार र प्रसार गराउने अध्यक्ष सारडाको भनाई छ ।

चार भागमा विभाजन गरिएको एक्स्पो चौबीस हजार स्क्वायर फिट क्षेत्रफलमा फैलने छ । जसमा प्रदर्शनी तथा बिक्री कक्ष, साँस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने छ । क्षेत्रगत रुपमा प्रदर्शनी कक्षहरु अलग–अलग निर्माण गरेर स्टलहरु राखिने मेला तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले जानकारी दिएका छन् । यस अगाडी २०६९ सालको विराट महोत्सवमा नविन रिजालले पाएको जिम्मेवारीमा राठी तोकिएका हुन् ।

संघका महासचिव रिजाल पाँचवर्ष अगाडीको महोत्सव ताका तत्कालिन नेतृत्वकर्ता राजेन्द्र राउतसँग बैरभाव राख्दै उनीहरु विरुद्धको मोर्चा गठन गर्ने प्रमुख व्यक्ति मानिन्छन् । यस पटक संयोजक बनेका राठीले अटोमोवाईल्स, बैंक तथा वित्तिय संस्था, मोवाइल र इलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन र दैनिक उपभोग्य वस्तु स्टलहरुमा रहने जानकारी दिएका छन् ।

मेलामा राखिएका स्टललाई अक्टानोर्म विधीबाट सजाईने र नेपाली संस्कृति झल्कने प्रवेशद्वार निर्माण गरिने बताइएको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत ट्यालेन्ट रियालिटी शोदेखि विराट गट प्रतियोगिता राखिने दावी गरिएको छ । मोरङ व्यापार संघले यस अगाडी २०५३ सालमा कोशी महोत्सव, २०५७ सालमा पूर्वाञ्चल औद्योगिक व्यापार मेला, २०६२ र २०७९ सालमा विराट महोत्सव आयोजना गरिसकेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved