विराटनगर जुट मिल्समा ‘घुन–पुत्ली’; अपुरो विवरण अदालतमा पेश गरेको खुलासा

  • प्रकाशित मितिः आश्विन, 26, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / स्वार्थले धाराशायी बन्दै आएको विराटनगर जुट मिल्सले उत्पादन सुरु गरेसँगै ‘घुन–पुत्ली’ लाग्न थालेको छ । सञ्चालकबीच देखिएको टकरावका कारण स्वार्थ र विवादमा बाझिएको जुट मिल्सले सुतली उत्पादन गर्न थालेपछि झन् ठुलो स्वार्थ हावी भएको हो ।

उत्पादन भएको सुतलीबाट आउने रकममा चलखेल बढाउन निलहरी काफ्ले, राजेन्द्र कार्की र फुलकुमार लालवानी सक्रिय भएका छन् । यस अगाडी समेत जुट मिल्सका पार्टपूर्जादेखि घेरावाराको इटा र परिसरका रुख तथा काठपात समेत बिक्री गरेको आरोप लागेका काफ्ले समुहले सुतली उत्पादन भएसँगै बन्द गराउने चलखेल सुरु गरेका छन् ।

पछिल्लो समय निलहरी काफ्ले, राजेन्द्र कार्की र फुलकुमार लालवानीले उत्पादन भएको सुतलीमा आँखा लगाउन थालेपछि प्रशासनिक काममै अवरोध हुने देखिएको छ । यसका लागि तीनजनाले अदालतमा गलत कागजात पेश गरेको खुलेको छ ।

उच्च अदालत विराटनगरमा अध्यक्ष वन विरुद्ध दायर गरेको रिट निवेदनमा शेयर सदस्यको संख्या अपुरो भएको खुलासा भएको छ । अध्यक्ष बसन्त वन आधिकारिक नभएको र जुट मिल्सको शेयर सदस्य समेत नरहेको भन्दै राजेन्द्र कार्कीले दायर गरेको रिटमा उल्लेखित शेयर सदस्य संख्या अपुरो देखिएको हो ।

उच्च अदालतका न्यायधिश उमेशराज पौड्यालले वहालवाला अध्यक्ष वनलाई अध्यक्षको हैसियतले तत्काल काम नगर्न र आगामी कार्तिक १२ गते छलफल डाकिएको आदेश दिनु भएको छ । दुवै पक्षलाई अन्तरिम आदेशको विषयमा छलफल गराउने फैसलासँगै जुट मिलको उत्पादन बिक्रीको प्रक्रियामा अवरोध देखिनसक्ने आशंका बढेको छ ।

तर, उच्च अदालतमा पेश गरिएको शेयर लगत विवरण भने गलत रहेको कम्पनि रजिष्टार कार्यालयले प्रमाणित गरेको छ । जुट मिल्स सञ्चालनमा अवरोध खडा गर्ने गरी सञ्चालकमध्येका फुलकुमार लालवानीले २०७५ भदौ २० गते शेयर लगत माग गरेका थिए । माग गरिएको शेयर लगतमा १७४ शेयर सदस्य मात्रैको अभिलेख भएको उल्लेख गरिएको छ ।

कम्पनि रजिष्टारको कार्यालयले २०७५ बैशाख १६ गते शेयर लगत पेश गरिएपनि अभिलेख नदेखिएको व्यहोराको विवरण लालवानीलाई दिइएको थियो । त्यहि आधारमा अदालतमा प्रमाण तथा दसी पेश गरेका वन विरुद्धको मोर्चाको विवरण कम्पनि रजिष्टार कार्यालयले नै उल्ट्याई दिएको छ ।

कम्पनि रजिष्टारको कार्यालयले लालवानीलाई उपलब्ध गराएको विवरण अनलाइनमा राखिएको आधारमा मात्रै दिइएको बताउँदै २०७५ असोज १५ गतेको पत्र अनुसार २०७५ बैशाख १६ गते पेश भएको निवेदन (७०३९७३) अनुसार शेयर लगतको अभिलेख भएको प्रमाणित गरेको छ । लालवानीलाई दिइएको शेयर लगत विवरण १ सय ७४ जना सदस्य रहेको भनी उल्लेख गरिएको छ । अध्यक्ष वनलाई दिएको शेयर लगत अभिखेलमा १ सय ८५ जना शेयर सदस्य रहेको उल्लेख छ ।

दुवैको व्यहोरामा एउटै मिति २०७५ बैशाख १६ गतेको पत्र सं. ७०३९७३ नै रहेको छ । एउटै मितिमा पेश गरिएको निवेदनका आधारमा दिएको शेयर लगत अभिलेख फरक देखिएको छ । तर, थप भएको शेयर लगत अभिलेख कम्पनि रजिष्टारको कार्यालयले २०७५ साउन १८ गते कार्यालयमा दर्ता भएको निवेदन र जुट मिल्स सञ्चालक समितिले २०७५ जेठ ३० गते गरेको निर्णय अनुसार कायम भएको बताएको छ ।

जुट मिल्समा जालझेल र चक्रब्यूँहको खेल खेल्दै आएका काफ्ले २०७२ साउन ३ गते अध्यक्षमा मनोनित भएपछि विराटनगर जुट मिललाई २०७२ असोज २९ गते कम्पनि रजिष्टारको कार्यालयमा दर्ता गरेका थिए । प्रा.लि.मा दर्ता गरेसँगै त्यसको प्रवन्धपत्र र नियमावली बनेको थियो ।

त्यसैका आधारमा भएको साधारणसभाले २०७४ साउन ८ गते बसन्त वनलाई अध्यक्षमा निर्वाचित गरेपछि काफ्ले प्रवन्धक निर्देशक बनेका थिए । त्यसपछि जुट मिलेको शेयर जारि गर्ने प्रक्रिया बढाएको थियो । सञ्चालक समितिबीच विवाद उत्पन्न भएसँगै काफ्ले र वनबीच दुरी बढेको थियो ।

सञ्चालक समितिले २०७४ जेठ ६ गते र असार २१ गते शेयर जारी गर्नका लागि गरेको निर्णयलाई २०७४ चैत १२ गते बदर गरिसकेको छ ।
अध्यक्षमा वनलाई ल्याएर प्रवन्ध निर्देशक बनेका काफ्लेले जुट मिल्सका सामानदेखि इटा, रुख र काठपाठ बिक्री गरिसकेका छन् । अध्यक्ष वनले जुट मिल्स सञ्चालन गर्नुपर्ने भएकोले सम्पति बिक्रीको अनुमति नदिएपछि काफ्ले, कार्की र लालवानी भने विरुद्धमा देखिदैं आएका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved