राजा महेन्द्रको लिगेसी

  • प्रकाशित मितिः असार, 16, 2076
  • विनोद सिजापति

मुलुक संघीय धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्रमा रूपान्तरण भएपछि महेन्द्रको राष्ट्रवादको महिमा गाउन थालिएको छ।


राजा महेन्द्र जीवित रहेका भए तिनी एक सय वर्षका हुने थिए। पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर इतिहासमा आफ्नो स्थान सुरक्षित तुल्याए। महेन्द्रको कार्यकाललाई सिंहावलोकन गर्ने हो भने लोकप्रिय तथा देशलाई आधुनिकीकरण गर्ने राजाका रूपमा आफ्नो नाम इतिहासमा सुरक्षित राख्ने तिनको अभिलाषा रहेको प्रस्ट हुन्छ। करिब १७ वर्षको शासनकालमा तिनले धेरै परीक्षण गरे। राजाले उठाएका पहलकदमको आलोचना निषेधित थियो पञ्चायत कालको तीन दशक लामो कालखण्डभरि।

पहिलो जनआन्दोलनपछि पञ्चायत कालखण्ड ‘कालरात्रि’ रह्यो अनि पञ्चायतका प्रवद्र्धक राजा ‘भिलियन’। तिनले गरेका कामको सिंहावलोकन गर्ने कार्य प्रजातन्त्रको पुनस्र्थापनापछि हुँदै भएन। दोस्रो जनआन्दोलनपछिका दिनहरूमा पुनः राजा महेन्द्रको स्मरण हुन थालेको छ। विगतमा तिनलाई सत्तोसराप गर्नेहरूमध्ये कति प्रशंसकमा परिणत भएका छन्। मुलुक संघीय धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्रमा रूपान्तरण भएपछि महेन्द्रको राष्ट्रवादको महिमा गाउन थालिएको छ। तिनलाई दूरदृष्टि भएको शासकका रूपमा प्रस्तुत गर्न थालिएको छ। यस आलेखमा राजाले थालेका केही प्रतिनिधि परीक्षण जसले निरन्तरता पाएका छन्, तिनलाई पस्केको छु।

रीतिथिति तथा शब्दाबलीको प्रयोग

शाहवंशीय राजाहरूको उपस्थितिमा विशेष समारोहहरू हुने गथ्र्यो खासगरी चाडपर्वका दिनमा। किनकि राजा धर्मको रक्षक भएको प्रमाणित गर्नु थियो। राजा महेन्द्रले त्यस्ता कार्यलाई निरन्तरता दिए। तिनका मन्दिर तथा जात्रा र पर्वहरूमा सहभागी हुने ‘सवारीहरू’ हुँदा जतिसुकै भीड भए पनि अथवा उपत्यकाको साँघुरो सडकमा केहीबेर यातायातका साधन रोकेर सवारी चलाउने प्रथा थियो। ‘सवारी’ हुँदा जनसाधारण सडककिनारामा उभिनेमध्ये कतिले जयजयकार पनि गर्थे।

राजाले सरकार लाई ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे चाहे त्यस्ता सरकार तिनको प्रत्यक्ष नेतृत्वमा गठन भएको होस् अथबा तिनले चयन गरेको राजनीतिक दलका नेताको नेतृत्वमा। अघिल्लो दिनसम्म भन्दै गरेको मेरो सरकारको विघटन गर्न भने तिनलाई समय लाग्दैनथ्यो। सरकारको गठन तथा विघटन प्रक्रियाले निरन्तरता पायो, चाहे त्यो पाँच वर्षका निमित्त गठित संसद्मा दुईतिहाइ बहुमत पाएको सरकार होस् अथवा तिनकै चाहनामा निर्मित पञ्चायती पद्धतिअनुरूप गठन भएका नै किन नहुन्।

राजदरबारस्थित सचिवालयको नामअगाडि ‘स्वकीय’ थपिने परम्परा तिनले थाले। राणाशासनको पतन तथा प्रजातन्त्र स्थापनादेखि प्रचलनमा आएको ‘तराई’ भनेर सम्बोधन गर्ने शब्दलाई राणाकालीन ‘हजुर’ द्वारा विस्थापित गराए। हेक्का रहोस्, राजा त्रिभुवनलाई तपाईं भनेर सम्बोधन गरिन्थ्यो। २००७ पछिका कालखण्डमा राजदरबारका निमित्त प्रयोजन गरिने शब्दावलीको पंक्ति लामै छ। सर्वसाधारणले त्यस्ता शब्द प्रयोग गर्दैनथे। अनेक कारणमध्ये एउटा त्यस्ता शब्द सामन्ती सस्कारसँग गाँसिएकाले हो।

वर्तमान कालखण्डमा भने त्यस्ता शब्दको प्रयोजन व्यापक हुन थालेको छ। हजुर, सवारी तथा स्वकीय सचिवालय अत्यधिक प्रयोजनमा आए पनि हालसम्म मौसुफ शब्द भने प्रयोजनमा आइसकेको छैन।

राज भ्रमण

पैंतीस वर्ष पुग्दा सत्ताको बागडोर सम्हालेका राजा महेन्द्रलाई प्रजातान्त्रिक प्रणाली खासगरी बहुदलीय संसदीय व्यवस्थाप्रति युवराजाधिराज हुँदादेखि नै वितृष्णा थियो। त्यस्तो राजनीतिक व्यवस्थामा राजाको भूमिका न्यून हुने भएकाले इतिहास रच्ने महत्त्वाकांक्षा भएका राजाका निमित्त सायद स्वीकार्य थिएन। तिनका निमित्त आशय बुझेर कार्य सम्पादन गर्ने योग्य आज्ञापालकको भने ठूलै जरुरत थियो। त्यस्ता व्यक्तिको खोजीमा तिनी निरन्तर जुटिरहे। तिनले छनोट गरेर चयन गरेका व्यक्तिमध्ये काबिलहरू टिक्थे भने अन्यलाई फाल्न तिनलाई समय लाग्दैनथ्यो।

सरकारको गठन तथा विघटन प्रक्रियाले निरन्तरता पायो, चाहे त्यो पाँच वर्षका निमित्त गठित संसद्मा दुईतिहाइ बहुमत पाएको सरकार होस् अथवा तिनकै चाहनामा निर्मित पञ्चायती पद्धतिअनुरूप गठन भएका नै किन नहुन्।

यातायात अभावमा पिल्सिएका मुलुकको अन्तरकुन्तर स्थानको भ्रमण थाले तिनले सिंहासन सम्हालेलगत्तै। त्यस्ता भ्रमणहरूको प्रमुख चार प्रयोजन थिए :

१. प्रत्यक्ष जनसम्पर्कमा पुगेर लोकप्रियता कमाउने,

२. विकास निर्माण कार्यको अवलोकन तथा नयाँ आयोजनाको पहिचान,

३. राजनीतिक दलहरूको स्थानीय तहमा भएको प्रभावको आकलन तथा ४. राजनीतिक दलमा सहभागिता जनाई नसकेका तथा दलमा क्रियाशील भूमिका नपाएका योग्य व्यक्तिको पहिचान। राजाको स्वदेश भ्रमण हुँदा स्थानीय स्तरमा स्वागत कार्यक्रम धुमधामसँग मनाइने प्रचलन थियो। अनि स्थानीय तहका ठूलाठालु, राजनीतिक नेता–कार्यकर्ता, शिक्षित व्यक्तिहरू तथा राजाका आफूलाई बफादार सम्झनेहरूको बाहुल्य हुने गर्दथ्यो।

वैदेशिक भ्रमण

राजगद्दी सम्हालेपछिका दिनहरूमा राजा महेन्द्र विदेश भ्रमण गर्न थाले। शीतयुद्ध चुलिएको त्यस कालखण्डमा तिनले असंलग्न राष्ट्र सम्मेलनहरूमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरे। संयुक्त राष्ट्रसघको महासभामा सहभागी भए। एसिया, युरोप, अमरिकी मुलुकहरूको मात्र होइन, अफ्रिकी राष्ट्रको पनि भ्रमण गरे।

राजकीय भ्रमणको उद्देश्य भने स्पष्ट हुने गथ्र्यो– १. मुलुकको पहिचान स्थापित गर्नु, २. वैदेशिक सहयोग जुटाउनु तथा ३. विश्व नेताहरूसँग व्यक्तिगत तथा मैत्री सम्बन्ध स्थापना गर्नु। तिनको शासनकालमा विश्वका थुप्रै नेताहरूले नेपाल भ्रमण गरे। फलस्वरूप विश्व राजनीतिक मानचित्रमा मुलुकले स्थान पायो। वैदेशिक सहयोग रकमहरू जुटे तथा भारतको छत्रछायाबाट राष्ट्र उम्किन सक्यो।

राजाले गर्ने सहयोगी छनोट

आफ्नो सत्रबर्से शासनकालमा राजा महेन्द्रले विभिन्न व्यक्तिहरू जस्तै– राणाकालमा स्थापित, आफ्ना नातागोता तथा आफूप्रति बफादार (समर्पित) बाट शासन गरे। अपवाद त केवल १८ महिना लामो नेपाली कांग्रेसले संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेको विश्वेश्वरप्रसाद कोइराला (बीपी) को नेतृत्वको सरकार मात्र हो। १ पुस २०१७ सालका दिन सत्ता हत्याएपछि आफ्नो नेतृत्वमा गठित सरकारमा चयन हुने कांग्रेसका तीन पूर्वमहासचिव ( डा. तुलसी गिरी, विश्वबन्धु थापा तथा ऋषिकेश शाह) लाई राजाले लामै अवधिसम्म सम्पर्कमा राखेर परीक्षण गरी दक्ष तथा आफूप्रति निष्ठावान् छन् भन्ने विश्वास भएपछि मात्र चयन गरेका थिए। तीबाहेकका दुई व्यक्ति सूर्यबहादुर थापा तथा अनिरुद्रप्रसाद सिंह पनि विगतमा राजाले नियालेका व्यक्ति नै थिए। आफ्नो प्रयोजन सकिएपछि राजाले ऋषिकेश शाह तथा अनिरुद्रप्रसादलाई बिदाइ गरे। तिनले गोरखा परिषद्का दुई नेताहरू रणधीर सुब्बा तथा प्रकाशचन्द ठाकुरलाई राजनीतिक जिम्मेवारी सुम्पेनन्। शैक्षिक तथा वैदेशिक सम्बन्ध विस्तारमा उनीहरूलाई प्रयोग गरे।

दक्ष तथा सबल प्रशासनिक संरचना अभावमा राजनीतिक परिपाटी लँगडो हुने भएकाले तिनले सचिवहरूको चयन गर्दा सेना, प्रशासन, प्राज्ञिक तथा प्राविधिक क्षेत्रहरूमा स्थापित भएका व्यक्तिलाई चुनीचुनी नियुक्त गरेका थिए। तीमध्ये सेनाबाट अवकाशप्राप्त पद्मबहादुर खत्री तथा क्षेत्रविक्रम राणा, प्रशासनतर्फबाट कुलशेखर शर्मा तथा प्रधुम्नलाल राजभन्डारी, प्राज्ञिकबाट यदुनाथ खनाल, डा. यादवप्रसाद पन्त तथा प्राविधिक बाट कृष्ण बम मल्ल (कृषि) तथा भेषबहादुर थापा (अर्थशास्त्री) लाई चयन गरे। सचिवहरूलाई मन्त्रीहरूको आदेश कानुनविपरीत भए अवज्ञा गर्नु भन्ने आदेश दिने राजाले मन्त्री तथा सचिवबीचको सम्बन्ध सन्तुलित गर्ने कार्य भने आफैंले गरेका थिए।

दौडाहा, बडाहाकिम, अञ्चलाधीश, पञ्चायत विकास अधिकृत, भूमिसुधार अधिकृत तथा प्रमुख जिल्ला अधिकारी हुँदै पाएको अवसरहरूको राजेच्छामुताबिक कार्यान्वयन गर्ने दक्ष व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री, योजना आयोगका सदस्य, गाउँफर्क राष्ट्रिय अभियान सदस्यदेखि सचिव भएर नाम कमाउनेहरूको पंक्ति लामो छ। तीमध्ये अधिकांशको राजासँग पूर्व सम्बन्ध तथा नातागोता थिएन। अनि त्यसरी राजा महेन्द्रबाट चयन गरिएका कतिपय व्यक्तिहरू जीवनको अन्तिम अवस्थासम्म पनि राष्ट्रिय आवश्यकताअनुरूपका विभिन्न कालखण्डका विभिन्न ताप्काका राजनीतिक वृत्तको अनुरोधमा कार्यरत रहे, रहँदै आएका छन्।

लोकप्रियताको भोक

लोकप्रियता कमाउने अभिलाषाका निमित्त राजा महेन्द्रले उठाएका तीन प्रमुख पहलकदममध्ये १. पञ्चायत प्रणाली, २. आफ्नै स्रोत तथा साधनले पूर्व–पश्चिम राजमार्ग निर्माण तथा ३. भूमिसुधार कार्यक्रमसँगै सुरु गरिएको अनिवार्य बचत संकलनलाई उदाहरणका रूपमा लिन सकिन्छ। राजाको सक्रिय नेतृत्वमा सञ्चालन हुने पञ्चायत प्रणालीको सुरुवात गाउँघरलाई सशक्तीकरण गरेर जगैदेखि प्रजातान्त्रिक प्रणालीअनुसार अघि बढ्ने अवधारणा सारिएको थियो, राजाको नेतृत्वमा जनताले वास्तविक प्रजातान्त्रिक प्रणालीअन्तर्गत विकास गर्छन् भन्ने अवधारणाअनुसार। त्यसै प्रयोजनमा मुलुकलाई चार हजार ग्राम तथा नगर पञ्चायत, ७५ जिल्ला तथा १४ अञ्चलमा विभाजन गरियो। विकेन्द्रीकरणका धेरै अभ्यास पनि गरिए तर शक्ति राजामा निहित तुल्याउने हेतुलाई भने कहिल्यैे पनि सम्झौता गरिएन। फलस्वरूप विकेन्द्रीकरणका सबै अभ्यास केन्द्रीकृत भए, जगैदेखिको ‘प्रजातान्त्रिक प्रणाली’ सुरुदेखि अन्त्यसम्म दरबारको इशाराअनुरूप कार्य गर्ने केन्द्रदेखि वडासम्मको सञ्जाल संगठन।

जीवनको अन्तिम कालखण्डमा तिनलाई पञ्चायत प्रणालीमा आधारभूत परिवर्तन गर्ने इच्छा थियो। त्यसै प्रयोजनका निमित अन्तिम दिन डियालो बंगला पुगेको विवरण न्याय, कानुन, गृह पञ्चायतमन्त्री शम्भुप्रसाद ज्ञवाली, विश्वबन्धु थापा तथा नवराज सुवेदीले गराएका थिए। अन्य दुई परीक्षण तिनले समय घर्किनुअघि नै परिमार्जन गरे पूर्व–पश्चिम राजमार्ग वैदेशिक सहयोगमा निर्माण गरिएको हो भन्न थाले व्यापक हिनामिना हुन थालेपछि।

माथि केही प्रतिनिधि उदाहरण प्रस्तुत गरिएको छ। राजा महेन्द्रको देहावसान भएको पाँच दशक हुन लागिसकेको छ। तिनले आफ्नो प्रत्यक्ष नेतृत्वमा शासन गर्न निर्माण गरेको पञ्चायतको अवशान भएको पनि तीन दशक बित्न लागिसकेको मात्र होइन, राष्ट्र गणतान्त्रिक भएको पनि दशक नाघिसक्यो। घरआँगनमा सिंहदरबार निर्माण गर्ने कार्यको थालनी भएको पनि दुई वर्ष पुगिसकेको छ। यही परिप्रेक्ष्यमा राजा महेन्द्र लिगेसी (बपौती) ले कुन क्षेत्र तथा कार्यले समकालीन नेपालमा निरन्तरता पाएछन्, त्यो फैलाउने कार्य पाठकमा छोड्दा पूर्वाग्रहपीडित नहुने पंक्तिकारको विश्वास छ।अन्नपूर्ण पोष्ट बाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved