प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीको चाप

  • प्रकाशित मितिः भदौ, 10, 2076
  • पहिलो किताब संवाददाता

मोरङ / विराटनगरस्थित प्रदेशिक अस्पतालको आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा.सङ्ज्ञा ज्ञवालीले बताए ।

अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ । यसको लक्षण डेङ्गुसँग मिल्दोजुल्दो रहेको चिकित्सकको भनाइ रहेको छ ।

अस्पतालमा विगत दुई महीनाको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा. ज्ञवालीले जानकारी दिए । बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन् ।

भाइरल ज्वरोबाट बच्न मास्कको प्रयोग गर्ने, धेरै भीड भएको ठाउँमा नजाने, झोल खानेकुरा बढी खाने र सरसफाइमा ध्यान दिनुपर्ने डा. ज्ञवालीले सल्लाह दिएका छन् । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएर उपचार भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा डेङ्गु पहिचान गर्ने कीटको अभाव नरहेको डा.ज्ञवालीले जानकारी दिए । डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, सुत्केरी भएका महिलाले आफू र बच्चालाई यो सङ्क्रमणबाट बच्न झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नी दुख्नु, आँखाका गेडी दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको बुझ्नुपर्ने चिकित्सकको भनाइ छ । त्यस्तो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved