नोबेल मेडिकल कलेज र सुनिल शर्माको रामकहानी

  • प्रकाशित मितिः कार्तिक, 30, 2074
  • नवराज कटटेल

२०५५ सालको कुरा हो । विराटनगरका केही जोशिला युवाहरू  (काठमाडौंमा नोवेल एकेडेमी र नोवेल इन्स्टिच्युट सञ्चालन गरिरहेका थिए) ले नेपालमा एउटा सुविधा सम्पन्न मेडिकल कलेज स्थापना गरेर चलाउने सोच बनाए । नवराज पाण्डे, रविन दहाल, उमेश पाण्डे, आदित्य खनाल मिलेर काठमाडौंमा एउटा मेडिकल कलेज खोल्ने तयारी गरे । त्यही बेला नवराज र रविन मिलेर काठमाडौंको दुहाकोटमा २ सय रोपनी जग्गा पनि किन्न तयार भए ।

मेडिकल कलेजबारे विभिन्न व्यक्तिसँग सल्लाह लिने काम भइरहेको थियो । एभरेष्ट होटल काठमाडौंमा कांग्रेसका एकजना नेतासँग पनि यस्तै सल्लाह भयो । निष्कर्षमाः काठमाडौंमा हैन आप्mनै स्थानीय गृहनगर विराटनगरमा मेडिकल कलेज स्थापना गर्ने सल्लाह भयो । विराटनगरमा मेडिकल कलेज नभएको र चाँडै सञ्चालन गरेमा सबैलाई नाम र दाम दिनसक्ने सुझाए । वरिष्ठ नेताको सुझाव मन पराएका उनीहरूले विराटनगर रोजे ।

सपना साकार पार्न युवाहरूको टिमलाई एउटा फिगर चाहिन्थ्यो । जसले सबैको विश्वास जितोस् । डा. ज्ञानेन्द्र गिरी विराटगरमा चर्चित थिए । स्वास्थ्य सेवामा राम्रो इमेज थियो गिरीको । डा.गिरीलाई भेटेर नेतृत्व लिन आग्रह गरियो । डा. गिरीले अध्ययन गर्छु भन्ने जवाफ दिए र तयार भए । सबैलाई समेटेर २०५७ मा नोबेल कम्पनी गिरीले तयार पारे ।

कम्पनीसँगै कलेज खोल्न जग्गा चाहिन्थ्यो । विराटनगरमा कलेजका लागि जग्गा खोजी कार्य तीव्र भयो । विराटनगरसँग सिमाना जोडिएको गाविस झापा वैजनाथपुर, विरानगर–१८ मा रहेको विद्युत्त प्राधिकरण क्षेत्रीय कार्यालय पछाडि र सरौचियामा रहेको जग्गा छानिए । तर, जग्गादातालाई भुक्तान दिने पैसा थिएन । तत्कालीन कांग्रेसका नेता चुमनारायण तवदारसँग भेट गरियो ।

डा. गिरीको छवि राम्रो भएकाले जमिन्दार तवदारले तत्काल विराटनगर–५ मा रहेको कञ्चनबारीको १५ बिगाहा ९ कठ्ठा जग्गा १२ लाख प्रतिबिगाहाले पास गरिदिए । विराटनगरको दक्षिण क्षेत्रलाई असुरक्षित, वैजनाथपुर अपायक र सरौचिया कञ्चनबारी भन्दा असजिलो भन्ने निर्णयमा पुगे ।

जग्गा किनेपछि कम्पनी दर्ताको लागि काम गर्न डा. गिरीको अध्यक्षतामा कम्पनी विधान तयार गर्न सुरु गरियो । तत्कालीन मुख्य सचिव बिमल कोइरालाले समेत रुचाइएका व्यक्ति डा.गिरी नै अध्यक्षका लागि उपयुक्त ठानिए ।

नाम चलेका र चिकित्सा क्षेत्रमा अनुभवी मान्छे हुँदा सञ्चालनमा सहज हुने भन्दै कोशी अञ्चल अस्पतालमा कार्यरत गिरीलाई अगाडि बढाइयो । त्यसपछि नोबेल कम्पनी दर्ता भयो । अध्यक्ष डा. ज्ञानेन्द्र गिरी र नवराज पाण्डे मेनेजिङ डाइरेक्टर बने ।

कम्पनीको ५० करोड बराबर पूँजी स्थापना भयो । जसमध्ये १७ करोड शेयरबाट र १० करोड उधारो थियो । कम्पनी दर्ता भएपछि विराटनगरमा धमाधम अस्पतालको भवन निर्माण थालियो । तर मेडिकल कलेज सञ्चालन गर्न शिक्षाको समेत अनुमति चाहिने भएकाले सम्बन्धन लिन मन्त्रालय जानुपर्ने भयो । शिक्षा मन्त्री हरिबहादुर बस्नेतले कम्पनीको फाइल रोके । फाइल रोकिएपछि सञ्चालकहरूले विराटनगरका पूर्वपञ्च रामकृष्ण भट्टराईसँग सम्पर्क गरे । रामकृष्णले आफूलाई पनि शेयर सदस्यमा समावेश गराउन राजी भए फाइल बढाउन सहयोग गर्ने बताए । सहमतिअनुसार रामकृष्णलाई शेयर दिन तयार भयो टिम ।

४० करोड बराबरको लागानी गर्ने तय भएअनुसार कलेजको नक्सा तयार पार्ने काम सुरुभयो । एक तला भवन बनिसक्यो । त्यसपछि डा.गिरीको पहलमा कोशी अञ्चल अस्तालले नोबेल मेडिकल कलेजलाई दुईवर्ष अभ्यास चलाउन दिने सहमति गरियो । स्वास्थ्य मन्त्रालयले अनुमति रोकिदियो । तत्कालीन स्वास्थ्य सचिव लोकमानसिंह कार्कीसम्म सञ्चालकले हारगुहार गरे । कार्कीले विराटनगरमा रहेको भुपालमानसिंह ग्राममा रहेको घर भाडामा लिएमा अनुमति फुकुवा गरिदिने बचन दिएको नोवेलका एक संचालकले वताएका छन् । एकलाख भाडामा कार्कीको भाडामा लिएर कलेजको केन्द्रीय कार्यालय राखियो । त्यसपछि अञ्चल अस्पतालमा अभ्यास गर्न पाउने सहमित फुकुवा भयो ।

अञ्चल अस्पतालमा नोबेलका विद्यार्थीलाई अभ्यास गर्न दिने कुरा कांग्रेसका केही नेतालाई मन परेन । शक्तिको आडमा फेरि सम्झौता खारेज गरियो । संरचना बनिनसकेको अवस्थामा अस्पताल सञ्चालन हुन सक्ने सम्भावना भएन तर कलेजमा विद्यार्थी भर्ना लिइसकिएको थियो । सञ्चालक अतालिएका थिए । छ महिना भित्रमा अस्पतालको जग बसालेर सम्बन्धन लिए ।
ठ्याक्कै त्यही बेला देशमा शाही शासनको अन्त्य भयो । लोकतान्त्रिक अन्तरिम सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्दै प्रधानमन्त्री बने । सरकारले मेडिकल कलेज स्थापना गर्ने कानुन त्यहीबेला ल्यायो । विश्वविद्यालयबाट सम्बन्धन नलिइकन मेडिकल कलेज सञ्चालन गर्न नपाइने भयो । यसैले नोबेल कम्पनीले पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिने तयारी थालियो । पूर्वाञ्चल विश्वविद्यालयको त्यो बेला मेडिकल डिन थिएन । सम्बन्धन सम्भव भएन । नोबेलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिने प्रकृया आरम्भ थाल्यो ।

डा. शेखर कोइराला धरानस्थित बिपी प्रतिष्ठानमा उपकुलपति हुँदा सुनिल शर्माले घनिष्ठता बढेको थियो । पछि मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने पूर्वाञ्चल विश्वविद्यालयले नीति लिएपछि शर्मा पूविविमा धाउन थालेका थिए । उनी विद्यार्थी उपलब्ध गराउने काम गर्थे । पहिले शर्मा चितवनस्थित भरतपुर अस्पतालमा ल्याबमा काम गर्ने कर्मचारी थिए । त्यहाँबाट उनी पढ्न चीन गएका थिए र चीन गएपछि उनले विद्यार्थी चीन लाने धन्दा सुरु गरेका थिए ।

सम्बन्धनका लागि धाउने क्रममै सुनिल शर्मासँग तत्कालीन नोबेलका सञ्चालकको चिनजान भयो । चिनजानसँगै काठमाडौं विश्वविद्यालयको सम्बन्धन दिलाउने र आफूपनि शेयर सदस्य बन्नुपर्ने प्रस्ताव सारे । नेपाली कांगेसका नेता डा.शेखर कोइरालाले पनि सुनिललाई शेयर सदस्य बनाउन आग्रह गरेको र २० प्रतिशत शेयर नदिए सम्बन्धन रोकिदिन्छु भनेको नोवेलका पुराना संचालकले पहिलो कितावसँग खुलासा गरे । शेखरले अध्यक्ष डा.गिरीलाई फोन गरेर त्यसो भनेका थिए । जुन कुरा पहिल्यै सार्वजनिक समेत भईसकेको छ ।

गिरीले शर्मालाई शेयर दिन चाहेनन् । शिक्षामन्त्री आमोद उपाध्यायले आफ्नो छोरा संजीव उपाध्यायलाई पनि शेयर दिन आग्रह गरे । छोरा संजीवले शेयर पनि पाए । आमोद शिक्षा मन्त्रालयबाट सम्बन्धन दिलाउने पहलमा कसिए । उनकै आग्रहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले केयुको बैठक बालुवाटारमा डाके । त्यसैबेला नोबेललाई सम्बन्धन दिने निर्णय भयो । सम्बन्धन दिए वापत् केयुलाई चार करोडको होस्टल निर्माण गरिदिनुपर्ने उसबेला सहमति समेत भएको वताईएको छ ।

सुनिलले सञ्चालक नवराज पाण्डेसँग राम्रो सम्बन्ध बनाएका थिए । सुनिललाई कम्पनीको डाइरेक्टर बनाउन बैठकमा पाण्डेले प्रस्ताव गरे । सुनिल डाइरेक्टरमा नियुक्त भए । सुनिलको प्रवेशसँगै संचालकविच फाटो सुरु भयो । अध्यक्ष गिरी शर्मालाई मन नपराउने तर निर्देशक नवराज भने शर्मालाई साथ लिएर काम चाँडो–चाँडो गराउन चाहन्थे । नोबेल कम्पनीमा शेयर किन्नका लागि सुनिलले काठमाडौंको बानेश्वरमा रहेको जग्गा पास गरिदिएका थिए । उक्त जमिन उनकी आमाले आफनो रहेको भन्दै मुद्दा हालेपछि सुनिल उधारो तर कानुनमा भने शेयरधनी भए ।

सुनिलले अस्पताल चलाउन पाण्डेलाई अध्यक्षको प्रस्ताव गर्दै उचालिरहेका थिए । उनकै कारण दिक्क भएका अध्यक्ष गिरी भने अस्पताल आउने जाने काम गरिरहेका थिए । जग्गा रकम भुक्तानी भएको थिइएन । कर्मचारी र प्रशासनको खर्च बढिरहेको थियो । सञ्चालक पाण्डे र अध्यक्ष गिरीको विवाद देखिएपछि विराटनगरका आदित्य खनाल शेयर किनेर कम्पनीमा प्रवेश गरे । अस्पताल र कलेज चलाउन डा.गिरी र पाण्डे दुवैको आवश्यकता छ भन्ने मध्ममार्गी लाइन थियो खनालको ।

अस्पतालका सञ्चालकबीच विवाद ल्याउने काम सुनिलले गरिरहेको ठहरगरी उनलाई कम्पनीको सञ्चालक समितिबाट निकाल्नु पर्नेमा धेरै सदस्य सहमत भए । यसपछि पाण्डेले नै सुनिल विरुद्ध कम्पनी रजिष्टारको कार्यालयमा उजुरी गरे । रुपैँया पनि नतिरेका सुनिलले ११ प्रतिशत शेयर झुक्याएर लिइसकेका थिए । उनलाई ६० दिनभित्र कम्पनीको सबै शेयर फिर्ता गर्न निर्देशन कार्यालयले दिइएको थियो ।

अपरहण र बम आतंक सुरु
६० दिनभित्र शर्माले कम्पनीको शेयर फिर्ता गर्ने लगभग पक्का भयो । २०६४ सालमा कागजात तयार गर्नुपर्ने भन्दै शर्माले कलेजका सञ्चालक समिति अध्यक्षसहित सदस्यहरुलाई काठमाडौं बोलाए । बिराटनगरबाट कलेजका अध्यक्ष डा ज्ञानेन्द्र गिरी, निर्देशक नवराज पाण्डे, सदस्यहरू आदित्य खनाल, उमेश पाण्डे र नागेन्द्रप्रसाद रिजालका छोरा जग्गु रिजाल काठमाडौं हिंडे । उनीहरूमा कलेज विवादबाट मुक्त हुने भो भन्ने खुशी थियो ।

तर, सबै जना काठमाडाैं विमानस्थलबाटै सवार गाडीको ड्राइभरसहित अपहरणमा परे । अपहरणकर्ताले कलेजका सञ्चालकबाट सबै कागजात र रुपँैया पैसा कब्जामा लिए । ज्यान मार्ने धम्की दिइयो । कुटपिट भयो । उक्त अपहरणका मुख्य योजनाकार सुनिल रहेको आशंका गरिदै आएपनि प्रमाणित भने हुन सकेको छैन । पेस्तोल तेर्स्याएर कम्पनीबाट डा. सुनिललाई निकाल्ने कि ननिकाल्ने ? भनियो र आफूहरुले कम्पनी छाडेको सहमति नामामा हस्ताक्षर गराएर बिहान ४ बजे सबैलाई छोडिएको अपहरणमा परेका एकले सुनाएका छन् । अपहरण काण्डले देशव्यापी चर्चा पायो । सुनिल विरुद्ध जाहेरी पर्यो । प्रहरीले उनको खोजी तीव्र बनायो । उनी भूमिगत भए । माओवादी सम्बद्ध बाइसिएल कार्यकर्ताले उनकै निर्देशनमा अपहरण गरेको आरोप सञ्चारमाध्यममा आए । सञ्चालकहरूले पनि त्यसै भने ।

त्यसैबेला डिफेन्स आर्मीकै आवरणमा नवराज पाण्डेका भाइ रमेश पाण्डे २८ दिनसम्म अपहरित भए । उनलाई भारतमा लगेर राखेको बताइयो । पछि सुनिलले कागजात आप्mनो नाममा पारिसकेपछि उनी रिहा भएको सार्वजनिक भएको थियो । त्यही बेला कलेजमा श्रृंखलाबद्ध वम विस्फोटनका घटना भए । नोबेलका सञ्चालकहरूको घरमा र कलेजमा भएको श्रृखलाबद्ध विस्फोटको जिम्मा अतिहिन्दुबादी भनेर चिनिएको संगठन डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीले लिए । डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीसँग सुनिल शर्मा साँठगाँठमा रहेको आरोप पनि लाग्यो तर त्यो पनि प्रमाणित भने भएने । श्रृंखलाबद्ध बम बिस्फोट गराएको आरोपमा डिफेन्स आर्मीका सुप्रिम कमाण्डर आरपी मैनाली, उपकमाण्डर त्रिभुवन यादव, नोवेलका कर्मचारी काशी चुँडाल र राजेश चौधरी नामका कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । तर, शर्मा पक्राउ परेनन् । उनी फरार थिए । काशी चुँडाल सुनिलका पीए थिए र उनी आरपीको नातामा सालो पर्दथे ।

त्यसपछि नोबेल कलेज बन्द जस्तै भयो । अस्पतालमा बिरामी आउन छाडे । पहिले सञ्चालकको विवाद र पछि अपहरण काण्डले गर्दा नोवेल विराटनगरवासीका लागि घाँडो भयो । कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन चर्काउन थाले । विद्यार्थी पनि आफुहरुको भविष्य धरापमा परेको भन्दै कलेज सञ्चालन गराउन सरकारले पहल गर्नुपर्ने मागमा आन्दोलनमा उत्रिए । विभिन्न सामग्री उपलब्ध गराउने व्यापार समेत पैसा नपाएको भन्दै ताकेतामा जुटे ।

विवादको भूमरीमा रहेको कलेज सञ्चालनका लागि केही कम्पनी पनि तयार भए । तर, आरपीलाई रकम दिने सहमति गरेका सुनिलले उनैमार्फत फोन गराएर काम हुन रोक्थे । सञ्चालकहरू हैरानीमा परे । कलेज सुनिललाई नै किन्न आग्रह गर्ने अवस्थामा पुगे । धेरै रकम रहेकाले सञ्चालन गर्दै शेयर फिर्ता दिंदै गर्छु भन्ने शर्तमा शर्माले कलेज लिए ।

यसपछि उनले विराटनगर विराट नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्र कार्कीलाई बराबरीको साझेदार बनाएर भित्र्याए । कार्कीसँग पूँजी थियो सुनिलसँग थिएन । कार्कीले लगानी गरेपछि कलेज सञ्चालन भयो । डा. कार्कीले नोवेललाई नमुना अस्पताल बनाउने योजना अगाडि ल्याए । कलेज सञ्चालन हुन थाल्यो । तर, छ महिना नबित्दै सुनिलबाट विरक्तिए कार्की । सुनिलले कलेजको सबै जमिन आफ्नो आमाको नाममा राखेपछि कार्की पनि हच्किए । फाटो बढ्यो । फेरि अज्ञात समुहबाट कार्कीलाई धम्की आयो । उनका विरुद्ध विद्यार्थीहरुलाई आन्दोलनमा उतारियो । कार्कीको घरमा २०६६ सालमा म्यागी सेनाको नाममा बम विष्फोट समेत गराइयो । कार्की नोबेलबाट ब्याक भए । नोबेल सुनिलको एकलौटी भयो ।

दाजुलाई पनि छाडेनन्
शर्माले कलेज आप्mनो बनाएपछि युएनमा काम गर्दै गरेका आप्mना दाजु केपी शर्मालाई ल्याएर कलेजको निर्देशक बनाए । उनको काठमाडौंमा रहेको घर बैंकमा राखेर ६ करोड ऋण झिके । केपीकै बुद्धिले चालु पूँजी भएपछि मज्जाले कलेज चल्न थाल्यो । तर, सुनिलले उनलाई पनि निकाले । विवाद भयो । मुद्दा हालहाल भएपछि घर बैंकमा राखेर झिकेको ऋण सुनिलले तिर्ने र केही रकम केपीलाई दिने पारिवारिक सहमति गराइयो ।

त्यसपछि डा.शेखर कोइराला निकट रहेका पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार भोगेन्द्र आर्चाय र डा.नारायण कुमारलाई प्रवेश गराइयो । उनीहरू पनि टिकेनन् । अख्तियारले खेद्न थालेपछि केही बेर आफ्ना बाबुलाई समेत सुनिलले अध्यक्ष बनाए । अख्तियार साम्य भएपछि बाबुलाई हटाए र आफैं बने ।

वर्तमानमा मोरङको ३ नम्बर क्षेत्रमा कांग्रेसबाट प्रतिनिधि सभाको उमेदवार बनेका उनले अध्यक्ष छाडेको बताउँदै आएका छन् । पछिल्लो अवधिमा शर्मा नक्कली डाक्टर भएको आरोपमा सिआइबीको खोजीको सूचिमा समेत परेका थिए तर प्रमाण अभावमा उनी पक्राउ परेनन । सो वेला उनले दुई महिना जापानमै बिताए ।

शेखरले चलाउँछन् सुनिललाई: डा.ज्ञानेन्द्र गिरी

म र डा.शेखर दिल्लीको एम्स कलेजमा सँगसँगै पढेका हांै । मैले एम्समा टप गरेर एमडी गरे । डा.शेखरले पनि त्यहींबाट एमडी गरेका हुन् । म कोशी अस्पतालको डाक्टर थिएँ र बिदा लिएपछि एमडी गर्न गएको थिएँ । म पढेर आउँदा शेखर पनि कोशीमै मेडिकल अफिसर थिए । म जागिरको हिसाबले सिनियर थिएँ । उनी आफूलाई सिनियर ठान्थे । यसैले उनले मप्रति हिनभावना लिए । म पनि उनिसँग टेर्दिन थिएँ । अर्कोतिर अस्पताल क्लिनिक सबैतिर प्रसिद्ध थिएँ । सबैले मलाई नै खोज्थे । मलाई भ्याई–नभ्याई थियो । सायद यही कारणले पनि शेखर मसँग जलेका हुन् । यसैले पनि होला उनले मलाई कहिल्यै सहयोग गरेनन् ।

जहिल्यै पछाडि बसेर मलाई हतोत्साही गर्ने काम मात्रै गरिरहे । म पहिले पनि चिकित्सा क्षेत्रमै थिए र अझै पनि छु । शेखर चाहिँ केही समयपछि बीपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपति भए र पछि काग्रेसको सक्रीय राजनीतिमा लागे । अहिले उनी मोरङ ६ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । शर्मा कांग्रेस नेता शेखर कोइरालाबाट परिचालित छन् । जानकारीमा आए अनुसार शर्माले पाँचलाख रुपँैया शेखरलाई मासिक घर खर्चका लागि दिने गरेका छन् । पछि थाहा भयो सुनिल शर्माले शेखरका आगाडि हाम्रा साथीहरूलाई बोलाएर चर्को दबाव दिँदै त्रास देखाएर शेयरको पत्रमा हस्ताक्षर गराएका रहेछन् ।

मैले मेडिकलमा एमडी र अमेरिकाबाट कार्डीयोलोजीमा एकवर्ष एएफसीसी गरेको हुँ । म पोलिटिकल्ली कांग्रेस निकट हुँ । म र मेरो परिवारले कांग्रेसलाई धेरै दिएका छौं । तर कांग्रेसले मलाई केही दिएन । जहिल्यै शोषण भयो । नेपाली कांग्रेसमा मैले नातावाद कृपावाद र वंशवाद मात्र हैन अपराधवाद पनि देखेँ । त्यसै कारण मैले कांग्रेस हुन छाडेँ ।

‘पवन यसरी कहे’
आदरणीय पत्रकार मित्रहरू

घटना धेरै महिना पहिलेको जस्तो देखिएपनि पीडा अझै ताजै रहेका कारण तपाईँहरूसामु वास्तविकता उजागर गराउन यहाँ उपस्थित भएको छु । सामान्य आर्थिक आर्जन भएको परिवार त्यसमा पनि श्रमजीवि पत्रकारकै हैसियतले दैनिक गुजारा चलाउने मसँग जोडिएर मेरो परिवारमा परेको यो समस्यामा तपाईँको साथ पाउँछु भन्ने आशा लिएको छु ।

घटना अनुसार मेरी श्रीमती सन्जु साहलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मिति २०७४ साउन १८ गते प्रसुती गराउन भर्ना गराएको थिएँ । सामान्य अवस्थामै भर्ना भएकी मेरी श्रीमतीको चिकित्सककै सल्लाहा बमोजिम भदौ ७ गते मात्र शल्याक्रिया गरिएको थियो । लामो समयसम्म अस्पतालमै भर्ना गरी सम्बन्धित विशेषज्ञ चिकित्सकको रेखदेखमा राखी शल्यक्रिया गरेको बिरामी शल्यक्रिया पश्चात् एकदिनसम्म पोष्टअप वार्डमा राखियो । दोस्रो दिनदेखि पोष्टनेटल वार्डमा राखेर मेरी श्रीमतीको उपचार सुरु गरियो । सामान्य अवस्थामा जन्मिएको बच्चा समेत आमालाई आएको स्वास्थ्य जटिलताका कारण बिरामी हुन पुग्यो र एनआईसीयूमा राख्नु पर्यो ।

उपचारपछि बिरामीलाई आराम हुनुपर्ने भएपनि श्रीमतीको स्वास्थ्यमा जटिलता देखा पर्दै गयो । शल्यक्रियापछि दाहिनेतर्फको कम्मरमुनिको भाग चल्न छोडेपछि डाक्टरहरूले नै शल्याक्रियाको प्रक्रिया गलत भएको स्वीकार गरेका थिए । स्त्री तथा प्रसुती समस्यासँग सम्बन्धित उपचारका लागि भर्ना गराएकी मेरी श्रीमतीलाई एकाएक हाडजोर्नी तथा नशा सम्बन्धिको समस्या देखियो ।

त्यसपछि चिकित्सकहरुले बिरामीको उपचारमा वेवास्ता गर्दै गए । नर्सहरू समेत बिरामीको हेरचाहमा आउन छाडे । मैले अलिक दबाव सिर्जना गरेपछि हाड जोर्नी तथा नशासँग सम्बन्धित चिकित्सकलाई बोलाइयो । त्यसपछि एक्स–रे लेखिदिएका चिकित्सक फेरि तीन दिनसम्म आए तर परीक्षण भने गरेनन् ।

प्रशासनलाई दबाव दिएपछि हाडजोर्नी तथा नशा रोग विभागअन्तर्गतको वार्डमा सारियो । त्यहाँ सारिएपछि एमआरआई गराइयो । त्यसको रिपोर्टमा खुल्यो इन्फेक्सनका कारण कम्मरदेखि घुँडासम्मको भागमा पीप जमेको छ । चिकित्सकले इन्फेक्सनको कारण कम्मरमुनीको भाग नचलेको भन्दै शल्यक्रिया गरेर पीप निकाल्नु पर्ने अन्यथा बिरामीको ज्यानको जोखिम रहेको बताए ।

अस्पतालमा मैले श्रीमती भर्ना गरेको एक महिना १० दिनपछि भदौ २७ गते उपचारमा संलग्न चिकित्सकले काठमाडौं लैजान सल्लाह दिए । आर्थिक अवस्था कमजोर त्यसमा पनि एक महिनादेखि श्रीमतीलाई अस्पतालमा राखेर बसेको मसँग सामथ्र्य रहेन । त्यसपछि त्यहीँ शल्यक्रिया गरियो । आमा स्वास्थ्यकै टुङ्गो नभएपछि छोराको स्वास्थ्य झन् बिग्रिएर गयो आखिर छोरालाई एनआईसीयूबाट बाहिर निकाल्नुपर्ने अवस्था आएको चिकित्सकले बताए । आमाको अप्रेशन भएकै दिन नवजात छोराले हामीलाई छोड्यो ।

उपचारकै क्रममा असोज ७ गते नोबेल मेडिकल कलेजका सबै चिकित्सकले टिचिङ्ग लैजान मलाई दबाव दिए । भएको करिब ७ लाख रुपैँया मैले त्यहीँ सकेँ । त्यसपछि रकम नभएको बुझेपछि बिरामीलाई रेफर गर्ने मनसायमा नोबेल पुग्यो । चिकित्सक नै नभएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजियो । अन्त्यमा केही ल्याब परीक्षणको रकममा छुट दिँदै बिरामीको डिस्चार्ज गरिदियो ।

अहिले पनि मेरी श्रीमतीको स्वास्थ्य अवस्था नाजुक जस्तै छ । एउटी महिलाले पाएको प्राकृतिक अधिकार सन्तान जन्माउनका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएकी उसको शल्यक्रिया गर्दा लापरवाही हुँदा हालको अवस्था आएको हो । घरमा राखेर केही औषधी उपचारको भरमा अहिले सामान्य बाहिर र भित्र गरिरहेपनि उपचार गराउन सक्ने सामथ्र्य नहुँदा समेत हामीले सहेर बस्नुपर्ने बाध्यता आएको छ ।

पत्रकार साथीहरू,

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा अहिले मोरङको ३ नम्बर क्षेत्रबाट निर्वाचनको मैदानमा हुनुहुन्छ । उहाँले त्यस क्षेत्रका धेरै बिरामीको स्वास्थ्य परीक्षण गर्ने, शल्यक्रिया गरिदिने, बिमा गरिदिने भनेर मत माग्दै आउनु भएको छ । स्वास्थ्य शिविरमार्फत धेरै विरामीलाई अस्पतालसम्म ल्याएर उपचार पनि गर्नु भएको छ । यो सबै विषय सह्रानीय छ । तर, सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएको बिरामीको अवस्था त्यति दयनीय अवस्थामा पुर्याउने उहाँको अस्पताल र चिकित्सकले जिम्मा लिनु पर्छ कि पर्दैन ?

अस्पतालको सेवा उचित नहुने अनि सामान्य जनता सामु गएर स्वास्थ्य सेवाको लाभ देखाएर भोट माग्ने उहाँले यदि निर्वाचित भएपछिको परिणाम कस्तो बेहोर्नु पर्ला ? भन्ने जिज्ञासा मलाई लागेर मैले यो पत्रकार सम्मेलन गर्नु परेको हो । यति धेरै पीडित भएर पीडामा रहँदा समेत सञ्चालक शर्माले मलाई एक पटकसम्म भेट गर्ने अवसर दिएनन् । सधैं तर्केर मेरो समस्या नबुझ्नेले सम्बन्धित क्षेत्रका मतदाताको भावना बुझ्लान् ? म यही प्रश्न उहाँसँग गर्न चाहन्छु । सामान्य आर्थिक आय भएको मैले उपचारको नाममा जुन खर्च गर्नु पर्यो र बिरामीको अवस्था जुन रुपमा स्वीकार गर्नु पर्यो यसले मलाई साँच्चै अन्याय भएको छ । त्यस कारण त्यसको उचित क्षतिपूर्ति दिलाउन सहयोग गरिदिनु हुनका लागि सबैसँग अनुरोध गर्दछु ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved