मैले भोगेको माओवादी जनयुद्ध

  • प्रकाशित मितिः माघ, 29, 2074
  • नवराज विष्ट

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपनि नेपाली राजनीतिको मूलधारमा आएको माओवादी केन्द्रले जनयुद्धले आफ्नो चरण पूरा गरेको र अर्धऔपनिवेशिकताको अवस्थाबाट मुलुकमाथि उठेको व्याख्या गर्यो । नेपालमा राजशाही समाप्त गर्ने उद्देश्यसहित सशस्त्र माओवादीले आफ्नो आन्दोलन फेब्रुअरी सन् १९९६, विस २०५२ सालबाट आफ्नो अभियान सुरु गर्यो । मुलुकको आधाभन्दा बढी हिस्सामा आफ्नो सक्रियता देखाउन जनयुद्धले आधा दशक खर्च गर्यो । समयक्रमसँगै राज्यसत्ताको नेतृत्वसमेत माओवादीले गर्यो ।
व्यापक भूमिसुधार, जनवादी व्यवस्था, शाही सासनको सत्ताच्युतलगायतका मुख्य उद्देश्यले माओवादीले जनयुद्धको सुरुआत गरेको थियो । मुलतः लोकतन्त्र स्थापनाका लागि माओवादीले गरेको संघर्ष संसदीय व्यवस्थासम्म आइपुग्यो । यसरी हेर्दा माओवादी जनयुद्धले आफ्नो अभिभारा पूरा गरेको देखिन्छ । यद्यपि केही अंशमा विभक्त भएको आन्दोलनले पूर्ण रूपमा आफ्नो लक्ष्य पूरा गरेको स्वीकार्दैन ।

माओवादीले हतियार बिसाएर शान्तिपूर्ण आन्दोलनमा आएपछि अब माओवादी जनयुद्ध रुपान्तरण भएर माओवादी आन्दोलन भयो । अन्य राजनीतिक दल कांग्रेस, एमालेजस्तै अब माओवादीले आफ्नो संघर्ष सम्झने अन्तिम वर्ष हो यो । जसरी कांग्रेसले आफ्नो सशस्त्र संघर्षलाई बिर्सियो, एमालेले आफ्नो सशस्त्र संघर्षलाई बिर्सियो, त्यसरी नै अब माओवादीले पनि आफ्नो सशस्त्र संघर्षलाई इतिहासका पानामा मात्र दर्ज गरेर एउटा मुलुककै विशाल एकीकृत कम्युनिष्ट पार्टीमा बिलिन हुँदैछ । तसर्थ यो सम्झनाको अन्तिम वर्षमा हामीले भोगेका २२ वर्षलाई सम्झनै पर्ने हुन्छ ।

इतिहास पढ्दै गएपछि मात्रै माओवादी आन्दोलनको उद्देश्य थाहा भयो । अन्यथा सुरुमा माओवादी एउटा डर र त्रास थियो हाम्रो गाउँमा । हुन त शहरको नजिक रहेको हाम्रो गाउँमा यसको प्रभाव माओवादी आन्दोलनको थालनीभन्दा दुईचारवर्षपछि मात्र पर्यो । होहल्लाले पनि माओवादीबाट त्रसित थिए गाउँले । सामन्तवाद भर्सेज माओवादी, धनाढ्यपुँजीपति भर्सेज माओवादी, सासक भर्सेज माओवादी, सांस्कृतिक विचलन भर्सेज माओवादीका रूपमा हाम्रो मस्तिष्कमा थियो माओवादी । नबिराउनु नडराउनुको रूपमा थियो माओवादी । तर पनि माओवादी एउटा अनुसासनको नाउँ थियो । हामीलाई थाहा थिएन माओवादी राज्यका विरुद्ध सशस्त्र संघर्ष गर्ने विद्रोही शक्ति हो । राजा हटाएर जनताको सासन ल्याउने रे माओवादीले, अब जनताको छोरा पनि राजा हुन पाउँछ रे, अहो कस्तो अचम्म ? विस्तार विस्तार माओवादीले जनतामा आफ्ना कुरा राख्दै गयो । माओवादी विस्तारसँगै नचिनेका नयाँ मान्छेहरू नै माओवादी होलान् भन्ने लाग्न थाल्यो । किनभने ‘हामी माओवादी हौं, देश परिवर्तनका लागि हिंडेका हौं । गरिब निमुखाको अधिकारका लागि हिंडेका हौं, जसको जोत उसको पोत’ भन्ने नयाँनयाँ मान्छेहरू गाउँमा आउँथे ।

हामीले बोलेको जस्तो भाषा अप्ठ्यारो गरी बोल्थे । तर गज्जबका मान्छेहरु रमाइला मान्छेहरु आउँथे । आफूभन्दा सानालाई पनि तपाईं भन्थे । कति मीठो बोली थियो उनीहरूको । बारी खन्न सघाउँथे । दाउरा चिर्न सघाइदिन्थे । तर पनि कहिलेकहीँ सुनिन्थ्यो पहाडतिर त माओवादीले लुटेर खायो रे, टाट्नामा बाँधेका खसी खाइदियो रे । डोकोले छोपेका कुखुरा खाइदियो रे । तर वास्तविकता थाहा हुँदैनथ्यो । कहीँ कहीँ माओवादीले राम्रै गर्छन् । कतै नराम्रो गर्छन् भन्ने सुनिन्थ्यो । माओवादीले जनतालाई त्यसो गर्दैनन् । नराम्रो त खाओवादीले गर्छन् भन्ने सुनिन्थ्यो । माओवादी पनि आफ्ना कुरा उसैगरी चिर्थे– हामी जनताको लागि संघर्षमा हिँडेका हौं । ‘आखिर एउटा सर्वहाराले गुमाउने कुरा के छ र ? जिते संसार हारे हत्कडी’, ‘सित्तैमा जनताको हातबाट सियोको टुक्रासम्म नलिनु’ यस्तै आदर्शका कुरा गर्थे र आफ्ना विरुद्ध सुनिएका कुराको तार्किक रूपमा खण्डन गर्थे ।

समय बित्दै जाँदा नयाँनयाँ अनुहारसँग भेट हुन्थ्यो । हामी स्कुल पढ्थ्यौं । बिहान घरमा माओवादी हुन्थे । स्कुलबाट आएपछि पनि तिनै हुन्थे । एक दिनको कुरो हो, माओवादीले तास खेल्नेलाई नुनपानी र तास खुवाइदिएछन् । किन त्यसो गरेको मैले पश्चिमबाट आएका एकजनालाई सोधें । उनले भने, हामी जनताका लागि जनयुद्धमा हिंडेका छौं उर्जाशील मान्छेले हाम्रो महान जनयुद्धलाई सहयोग गर्नुपर्छ न कि तास खेलेर समयको बर्बाद गर्ने, अब यसो गरेपछि उनीहरुले तासमा समय बिताउँदैनन् । यो उनीहरुलाई नसिहत रहेछ ।

अर्को दिन बिहीबारे हटियामा एउटै माओवादी केटोले पाँचसात जना स्थानीय युवालाई हप्कीदप्की गर्दै बजार घुमाउँदै थियो । ती युवाको अपराध चुरोटमा गाँजा भरेर खाएको रहेछ । ती विनोद नाम गरेका माओवादी दाइले ती युवालाई नसिहतमा दुईचार झापड लाएछन् । र आगामी दिनमा पनि यस्तो हर्कत दोहोर्याए धर्तीमा बसिरहने अधिकार छैन भन्ने उर्दी लाएछन् ।

माओवादीले रक्सी खाने र मातेर हिँड्ने जँड्याहालाई लघारेर कुट्थे । परस्त्रीगमन गर्नेलाई पनि समाउँथे । र, भाटा लाउँथे । समय क्रमसँगै माओवादीको त्रास बढेर गएको थियो । तरपनि आफ्नो लाइनमा हिंड्नेलाई डर थिएन । रै पनि निर्दोष भएर कारबाही भोग्नुपर्ने हो कि भन्ने त्रास त छँदैथियो ।
माओवादीले बाटो बनाउ प्रत्येक घरबाट एकजनालाई श्रम गर्न लगाउँथे । चतरादेखि अर्चले त्यसरी नै बाटो बनेको हो । चतरादेखि नडाहा त्यसरी नै बाटो बन्यो । भण्डारीटारदेखि चावाचा त्यसरी नै बाटो बन्यो । माओवादीले बिजुलीको पैसो नतिर्न उर्दी गरे । जनताले तिरेनन् । साँच्चै माओवादीले केही राहत गरिदियो ।

एकदिनको कुरो हो, चतराकै स्थानीय माओवादीले मलाई चारपाँच वटा पुस्तक ल्याएर दिए । उनले यसलाई अध्ययन गर्ने र माओवादी जनयुद्धमा सहभागी हुन भने । मैले ती पुस्तक झण्डै एक महिना लगाएर पढी सिध्याएँ । त्यसमा माओवादी जनयुद्ध केका लागि ? माओवादी जनयुद्धको दिशा, माओत्सेतुङको जीवनीलगायत माओवादी र माक्र्सवादी चिन्तनका पुस्तिका र पर्चा थिए । उनले त्यो पढेपछि अरु साथीलाई पनि दिन भनेका थिए ।

माओवादी जग्जगीसँगै सेनाहरू पनि माओवादी खोज्न गाउँ आउँथे । नचिनेका मान्छे आउँछन् भनेर सोद्थे । सेना आएपछि माओवादी हुँदैनथे । कहाँ गए होलान् भन्ने कौतुहलता हुन्थ्यो । पछि फेरि आउँथे र सुराकी नगर्नु भन्थे । माओवादी सुराकी गर्नेलाई सफाया गरेको कथा सुनाउँथे । मनमा डर लाग्थ्यो । वास्तवमा हामी माओवादीको संगतमा होइन, माओवादी हाम्रो नजिक हुन्थे ।

सेना बजारमा हिँडेको दिन मलाई दिएका पुस्तकको याद आयो । माओवादी भन्ने थाहा पाएपछि उनीहरुले पक्रेर लान्थे । चतराकै दुईचार जनालाई पक्रेर लगिसकेका थिए । उनीहरूको अत्तोपत्तो थिएन । पछि कोहीलाई मारेको, सेनाको कारबाहीबाट बाँचेको लगायतका खबर सुनिन्थ्यो । यो सबै थाहा पाएपछि मैले ती पुस्तिकाहरू घरको पर्खालमा चेपेँ र बाँसको लामो भाटाले अझै परसम्म पुर्याएँ । सेना घरमाथि नै चढे । घरका कोठाचोटा हेरेँ । नचिनेका मान्छे आउँछन् कि आउँदैनन् ? ठूलो स्वरमा डरलाग्दो गरी भने । कोही बोलेनन् । जनताका घरमा भात खान आउँछन् रे आतंककारीहरू, आए भने खबर गर्नु भनेर जान्थे । हृदयबाट भन्ने हो भने, माओवादी आउँदा भन्दा सेना आउँदा हाम्रो मुटु ढुकढुक हुन्थ्यो । जान्थे, लामो सास फेरिन्थ्यो ।

माओवादीले अपहरण गरेको कुरा सुनिन्थ्यो । अपहरण किन गरेको होला भन्ने लाग्थ्यो । जिज्ञासा राख्थ्यौं । माओवादी भन्थे जनवादी शिक्षा दिनका लागि हो भन्थे । एक दिन गाउँकै माओवादी अगुवाले सोधे– कति पढिसक्नु भयो । मैले १० भनेँ । ‘हाम्रो जनसरकारमा ४ पढेका प्रमुख हुन्छन् । तपाईं १० पढ्नु भएको रहेछ । तपाईंलाई जनअदालतको प्रमुख बनाउँछौं भने । मेरो होस् हवास उड्यो । ‘म त बन्न सक्दिनँ होला जाँच आउन आँटेको छ । मलाई यसबारे केही थाहा छैन ।’ भनेँ । ‘पहिले दिएका पुस्तकहरू पढ्नु भएन ?’ उनले यति भनेपछि विषय अर्कैतिर मोडियो । र उनी ओझेल परे । मनमा डर रहिरह्यो ।

कुनै एउटा दिन, नयाँ अनुहार गरेका मान्छेहरु आए । म घरपछाडिको आँगनमा त्यतिकै बसिरहेको थिएँ । निकै मान्छे भेला भएपछि के रहेछ भनेर कोठा नजिक गएँ । त्यहाँ उनीहरूको बैठक रहेछ । पश्चिमका एकजना दाइले ‘हाम्रै साथी हुनुहुन्छ । यही घरमाथि बस्नुहुन्छ’ भने । त्यहाँ कसैको हातमा मोबाइल फोनजस्तो ठूलो वाकीटकी सेट थियो । कसैको हातमा बन्दुक थियो, ठूलो सानो । ती दाइले मलाई बोलाए । रिभल्भर थियो उनको हातमा उनले भने, ‘बन्दुक देख्नु भएको छ, लौ यो उचाल्नुस् त मैले छोइ हेरेँ भारी थियो । दुई किलो जति पो थियो कि भन्ने अनुमान गरेँ त्यतिबेला । जिन्दगीमा पहिलो पटक बन्दुक समातेंँ । डर लाग्यो । पछि त्यो सायद केही विषयमा मिटिङ थियो । उनीहरू बाटो लागेंँ । माओवादीसँग बन्दुक थियो भनेर दुईचार जना साथीभाइलाई भने । बन्दुक छोएको कुरो साथीभाइलाई भनेर केही गर्वको महसुस गरेँ ।

केही दिनपछि, माओवादीको जनवादी शिक्षा दिने लहर चलिरहेको रहेछ । अब म पढेको विद्यालयमा पनि जनवादी शिक्षा दिनुपर्छ भनेर मलाई त्यसको जिम्मा दिन लागे । मैले सोधेँ यसको प्रक्रिया के हुन्छ ? ‘विद्यालयबाट केही विद्यार्थी लाने उनीहरूलाई गोप्य ठाउँमा लगेर शिक्षा दिने ।’ म झस्किएँ । ‘विद्यार्थी आउन मान्छन् त ?’ त्यही भएर तपाईंलाई जिम्मा दिन लागेको माओवादी अगुवाले भने । मैले हुँदैन म कसरी उनीहरूलाई मनाउनु ? मैले सोधेँ । ती माओवादीले मलाई प्रस्तावसम्म पुर्याउनु बाँकी आफैं गर्ने भने । मलाई विस्तृतमा भन्नुस भनेँ । उनले विद्यार्थीलाई कन्भिन्स गरेपछि गोप्य ठाउँमा लाने र जनवादी शिक्षा दिने बताए । उनले त्यो अवस्था अपहरण जस्तो हुने तर विद्यार्थीलाई छाडेपछि मात्रै आफैंले मिडियामा अपहरण गरेको खबर गर्ने बताए ।

मैले स्कुलमै गएर क्लास लिएजसरी गर्दा हुने प्रस्ताव गरेँ । उनीहरुले त्यो झनै खतरनाक हुने र सेनाले घेरा हाले विद्यार्थीहरुको ज्यान जान सक्ने बताए । विद्यालय असुरक्षित हुँदा अपहरणको शैलीमा लगेर जंगलमा शिक्षा दिने अवस्था मेरो मनमा झनै डरलाग्दो गरी आयो । त्यसपछि म बिहान कोठाबाट स्कुल जाने बेलामा निस्कने र स्कुलबाट आएपछि कोठाबाहिर ननिस्कने अवस्थामा पुगेँ । मैले माओवादीको अपेक्षा पूरा गर्न नसक्ने निष्कर्षमा पुगेँ । पछि त्यो प्रस्ताव दोहोरिएर आएन ।

एक दिनको कुरो हो । सेनाले चतरा बजार घेरेछ । ठ्याक्कै अप्रिल १ तारिखको दिन थियो । चतराको मिलन चोकमा सुमन नाम गरेका अत्यन्तै मिलनसार माओवादी युवालाई सेनाले गोली हानेर मारेछ । अर्का एकजना माओवादी भनेर नखुलेकाको सेनाको गोलीबाट ज्यान गयो । त्यसपछि सेनाले चतरामा गतिविधि बढायो । माओवादी भनेर हिँड्ने केहीलाई पक्राउ गर्यो । मसँग मिल्ने साथी विदुरलाई अर्चेलतिर मार्यो । निर्दोषलाई पनि सेनाले पक्रियो ।

ती युवतीकी आमा मसँग चिठी लेखाउन आइन । सेनालाई चिठी लेख्नुपर्ने थियो । मलाई डर लाग्यो । मैले सोधेँ त्यत्रा माओवादी कार्यकर्ता छन् उनैलाई लेख्न लगाउनु नि । मलाई त भाका मिलाएर लेख्न आउँदैन । कसरी लेख्नुपर्छ थाहा छैन भनेँ । तर ती आमाले कोही माओवादीले पनि लेखिदिएनन् । तिमीले लेखिदिएनौ भने छोरीलाई मार्छ सेनाले भनिन् । वास्तवमै कसरी लेख्नु पथ्र्यो मलाई थाहा थिएन । ठ्याक्कै कसरी लेखेँ अहिले थाहा छैन । तर मेरी निर्दोष छोरीलाई सेनाले लग्यो । फिर्ता पठाइपाऊँ भन्ने आशयमा चिठी लेखिदिएँ । पछि ती युवती घर फर्केर आउँदा सन्तोष लाग्यो । त्यही समयमा धेरैलाई सेनाले लगेर कुट्यो । केही निर्दोष भएर फर्किए । केही मरे ।

कक्षा ११ पढ्दै गर्दा माओवादीको झनै जग्जगी भयो । माओवादी स्कुलमै आएर लामो, रातो कपाल काट्ने गर्न थाले । चुज पाइन्ट काटिदिने गर्न लागे । कुरो एक दिनको हो, बिहीबार हाट लाग्छ चतरामा । अर्चले घर भएकी एकजना राई थरकी चेली धरानबाट आएकी रहिछन् । अलिक मोर्डन टाइपकी । रातो कपाल पारेकी । उनको कपाल मुडुलै पारेर माओवादी कार्यकर्ताले काटिदिए । ती चेलीलाई कपाल काटिएकै कारण घरबाट बहिस्कार गरिएछ । यो कुरो जनमानसमा आयो । स्कुलेहरुको कपाल र पाइन्ट काटिदिएको रिस थियो स्थानीयलाई । फेरि घरबाटै एउटी चेली माओवादीका कारणले बहिस्कार हुनु पर्यो । रिसले चतरा तात्यो । घरघरबाट माओवादी विरुद्ध नारा निस्किए । मुलुकमै पहिलोपटक चतरावासीले माओवादीको अतिवाद विरुद्ध नारा लगायो । माओवादी हुँ भनेर हिँड्नेलाई स्थानीयले खोजीखोजी कुटे । कति विस्थापित भए । धेरै समयसम्म चतरामा निस्किएनन् । नेपाल टेलिभिजनले माओवादीविरुद्धको विद्रोह खिच्यो । त्यहाँ एकजना संवाददाता थिए । तर त्यो प्रसारण भएन । पछिसम्म केही फोटोहरु देखिन्थ्यो ।

सायद माओवादी त्यसताका वार्ताका क्रममा थियो । उनीहरू खुलेर हिँड्न लागेका थिए । एकपटक विद्यालयमा आए र उनीहरु जनसभामा विद्यार्थीलाई सहभागी गराउने नाममा ट्रकमा लिएर गए । सायद विराटनगर हुनुपर्छ । हामी सबै गयौं सभामा । कुरो फर्कने बेलाको हो । माओवादीका कार्यकर्ताले आफू विरुद्ध नारा लगाउने यिनै विद्यार्थी हुन् भनेर निहुँ खोजे । हामीलाई आउँदा आउँदै बाटैमा पिँडारीमा गाडीबाट उतारियो । त्यहाँबाट विद्यार्थीका हुल हिँड्दै चतरासम्म आयो । भोलिपल्ट उसैगरी आदर्श उच्च माविको प्राङ्गणमा माओवादीलाई खोजेर विद्यार्थीलाई दुव्र्यवहार गरेकामा माफी माग्न लगाइयो । माओवादीले गल्ती स्वीकारे र उठबस गरे ।

त्यसपछि माओवादीको चल्तीफिर्ती उत्तिसारो भएन विस्तारै शान्ति प्रक्रियामा आइरहेको माओवादी आन्दोलन संगठनका दृष्टिले बलियो हुँदै गयो । मान्छे खुल्दै गए । कोहीले छाड्दै गए । कतिपय उहिलेका माओवादी अहिले बनिबुतो गर्छन् । उनीहरुको आर्थिक स्थितिमा सुधार आएन । जनताले शान्तिप्रक्रिया पछि बिजुली पानीको पैसा तिर्नु पर्यो । अझ थप फाइन पनि तिर्नुपर्यो ।

माओवादी मुलुककै सबैभन्दा ठूलो पार्टी बन्यो । फेरि खस्क्यो । आजको अवस्थामा माओवादी चिराचिरा पनि भयो । अहिले ठूलो शक्ति वृहत्त वाम एकताको लाइनमा छ । र, आज २३ औ जनयुद्ध दिवस मनाउँदैछ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved