फलोअप - ३३ किलो सुन प्रकरण : फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

  • प्रकाशित मितिः बैशाख , 18, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / ३३ किलो तस्करीको सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री फरार भएपछि उनलार्इ पक्राउ गर्न सर्कुलर जारी गरिएको छ ।

बरामद सुन हराएको भनिएको र सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता भेटिएपछि छानबिन समितिले उनलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। तर उनी बयानका लागि उपस्थित नभएर फरार भएका थिए । स्रोतका अनुसार फरार एसएसपी श्याम खत्रीलाई खोज्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।

उनलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो। समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्सपछि फरार भएका थिए । समितिले खत्रीका चालक प्रहरी जवान विष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका हुन्। सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको छानबिन समितिले जनाएको छ ।

सुन गायव बनाएको भन्दै सनम शाक्यको हत्यापछि फरार भएका गोरे र एसएसपी खत्रीको पहिलादेखि सम्पर्क रहेको समितिको अनुसन्धानमा देखिएको छ । २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन पनि गोरेकै भएको र उक्त सुन भन्सार कटाउन खत्रीको भुमिका रहेको खुलेको थियो।

त्यतिबेला खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको थियो। सो मुद्दामा अदालतबाट धरौटीमा छुटेका खत्री पुनः कार्यालयमा हाजिर भएका थिए। तर छुटेपछि पनि उनको गोरेसँगको सम्पर्क जारी रहेको अनुसन्धानबाट खुलेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved