अक्सिजन नहुँदा चार मिनेटमा चारको ज्यान

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / उद्धारमा तत्काल आवश्यक पर्ने अक्सिजन सिलिण्डर नजिकै उपलब्धता नहुँदा निर्माणाधिन सेफ्टीट्याङ्की भित्र सेटिङ खुस्काउन छिरेका चारजनाले ज्यान गुमाउनु प¥यो । मोरङको सुनवर्षि नगरपालिका–९ डायनियास्थित मस्जिदको परिसरमा बनेको सेफ्टीट्याङ्की भित्र छिरेका चारजनाको उद्धारमा आवश्यक पर्ने अक्सिजन जस्ता सामाग्री अभावका कारण असार १४ गते शनिबार दिउँसो गएको थियो ।

चार मिनेटको अन्तरमा स्थानीय २० वर्षिया फिरोज आलम, २५ वर्षिय सहनवाद, ४५ वर्षिय कफिल आलम र २२ वर्षिय ओसिब आलमले एकै स्थानमा ज्यान गुमाउनु परेको घटनाले स्थानीयवासीमा चैन फर्केको छैन ।

आफन्त गुमाउनुको पीडामा परेका घरपरिवारलाई राहतस्वरुप सुनवर्षि नगरपालिकाले ५० हजार र प्रदेश सरकारले २५ हजार रुपिँया प्रतिपरिवार दिने निर्णय गरेपनि शोकमा डुबेको गाउँका स्थानीय भने ढुक्क छैनन् ।

स्थानीय शान्ति आधारभूत विद्यालयका शिक्षक मो.जलाउद्दीनका अनुसार ज्यान गुमाउनेहरुको उद्धारका लागि स्थानीय सुरक्षाकर्मी घटनास्थलमा पुगेपनि आवश्यक पर्ने अक्सिजनको अभावले भित्र प्रवेश गर्ने अवस्था नहुँदा उनीहरुको ज्यान गएको थियो । उद्धारका लागि खटिने सुरक्षा संयन्त्रसँग आवश्यक पर्ने सामाग्री नहुँदा फसिरहेका आफन्त हेरेर बस्नुपर्ने बाध्यता सहनु परेको शिक्षक जलाउद्दीनको भनाई छ ।

मोरङको दक्षिणवर्ती बजार रंगेलीदेखि ७ किलोमिटर दुरीमा घटनास्थल रहेको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी डायनियाको टोलि घटनास्थलमा पुग्दा चारैजना भित्री परिसरमा बेहोस् अवस्थामा देखिएका थिए । तर, प्रहरीसँग उद्धारका लागि आवश्यक सामाग्रीमध्येको अक्सिजन सिलिण्डर नहुँदा भित्र प्रवेश गर्ने अवस्था रहेन ।

छोराको कहालीलाग्दो निधन देख्नु भएकी आमा जयगुन खातुन घटना भईसकेपछि तत्काल खबर गरेको प्रहरी पुगेपनि औजारविहीन हुनु आफ्नो जीवनका लागि दुर्भाग्य भएको दुखेसो गर्नुहुन्छ ।

मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ यकिन नै नगरिएको विपत्का लागि आवश्यक पर्ने अक्सिजन खोज्नुपर्ने अवस्थाका कारण उद्धारमा ढिलो हुन पुगेको बताउनुहुन्छ । रंगेली अस्पतालमा आपत्कालिन अवस्थाका लागि अक्सिजन पर्याप्त नभएपछि स्थानीय निजी अस्पतालसँग सहयोग लिएर दुईवटा सिलिण्डरको व्यवस्था प्रहरीले नै मिलाएको श्रेष्ठको भनाई छ ।

सुनवर्षि नगरपालिकासँग भएको एम्बुलेन्सको सिलिण्डर पनि आधा मात्रै थियो । चारजनालाई उद्धार गर्नका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर अभावका कारण आफन्त बचाउन नसकेको मृतक सहनवादका दाजु नैयार आलमको भनाई छ । अक्सिजन अभावका कारण सबैको बेहोस् भएपछि उद्धारका लागि पनि अक्सिजन आवश्यक थियो ।

विपद्पछिको व्यवस्थापन र उद्धारका विषयमा तारे होटलमा पर्याप्त चर्चा भएपनि आवश्यक सामाग्री जुटाउने र पूर्व तयारीलाई सशक्त बनाउन नसक्दा सामान्य घटनाले पनि व्यक्तिको ज्यान लिनसक्ने डायनियाको घटनाले देखाएको छ । उद्धारका लागि खटिने सुरक्षा संयन्त्रपनि साधनमैत्री नहुनुले सामान्य विपत्मा फसेका व्यक्तिको उद्धार र व्यवस्थापन सहजै भएको देखिदैन ।

डायनियाको घटनाले स्थानीय, प्रदेश र संघीय सरकार विपद्पछिको उद्धार व्यवस्थापनमा कमजोर देखिएको प्रभावित गाउँका स्थानीय इशतियाक आलमको भनाई छ । निर्माण उपभोक्ता समिति अध्यक्ष समेत रहनु भएका आलमका अनुसार २५ मिटर लम्बाई, १० मिटर चौडाई र १० मिटर गहिराईको सेफ्टीट्याङ्की भित्र चारजना व्यक्ति बेहोस् भएको देखेर पनि राज्य संयन्त्रसँग उद्धारको सामर्थ रहेन । त्यसले गर्दा आफन्त गुमाउनुको पीडाले गाउँ नै स्तब्ध बन्नु परेको छ ।

आपत्कालिन र सम्झदैं नसम्झेको घटनाले धेरै पाठ सिकाएको सुनवर्षि नगरपालिकाका प्रमुख कालिप्रसाद दासको भनाई छ । विपत्पछि उद्धार र व्यवस्थापनका लागि आवश्यक पर्ने २१ प्रकार सामाग्री खरिद गरेर स्थानीय प्रहरी इकाईलाई उपलब्ध गराएपनि अक्सिजनको आवश्यकता बारे महशुस नगरिएको उहाँ बताउनुहुन्छ ।

स्थानीयवासीका अनुसार सुरुमा सहनवाद सेफ्टीट्याङ्की भित्र छिर्नु भएको थियो । भित्र प्रवेश गर्ने बितिकै साथी बेहोस भएको देखेपछि उद्धारका लागि फिरोज आलम जानु भएको थियो । सुरुका दुईजना साथी भित्रै बेहोस् भएको देखेपछि ओसिब आलम बोतलमा पानी लिएर भित्र प्रवेश गर्दागर्दै सिंढीमै बेहोस भएर तल झर्नु भयो । आफ्नो छोरा फिरोजलाई बचाउन भन्दै भित्र प्रवेश गर्नु भएका कफिल आलम पनि उतै बेहोस् भएपछि स्थानीयले सेफ्टीट्याङ्कीलाई घेरा हालेर अन्यलाई जोगाउनु परेको थियो ।

सेफ्टीट्याङ्कीमा फसेका चारजनालाई प्रहरीले करिब एक घण्टापछि मात्रै बाहिर निकाल्न सफल भएको थियो । असार १४ गते शनिबारको घटनाले विपत्पछिको उद्धारका लागि आवश्यक पर्ने सामाग्री स्थानीय प्रहरी यूनिटमै राख्नुपर्ने महशुस गराएको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय सरकारले अतिआवश्यक सामाग्री खरिद गरेर प्रहरीका युनिटमा वा आफ्नै छुट्टै निकाय खडा गरेर भएपनि राख्नुपर्ने पाठ घटनाले सिकाएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved