हङकङको आन्दोलन झन् चर्किँदैः प्रहरी दमन तीव्र, प्रदर्शनकारीले हान्न थाले पेट्रोल बम

  • प्रकाशित मितिः श्रावण, 27, 2076
  • पहिलो किताब संवाददाता

हङकङ/  चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा फेरि एकपटक तनावपूर्ण वातावरण सिर्जना भएको छ ।  सरकार विरोधी प्रदर्शन शुरु भएको १० हप्तापछि यो प्रदर्शन चर्किन पुगेको हो ।  केही दिन यताका प्रदर्शनहरु निकै तनावपूर्ण भइरहेका छन् । प्रहरीले गएराति शहरका विभिन्न भागमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यासको प्रयोग गरेको छ । रेलवे स्टेशनमा पनि अश्रुग्यास प्रहार गरिएको थियो । 

प्रदर्शनकारीले वान चाइ जिल्लामा दंगा प्रहरीमाथि पेट्रोल बम र इँटा प्रहार गरेका थिए । सो आक्रमणमा एक जना प्रहरी अधिकृत सहित थुप्रै मानिस घाइते भएका छन् । प्रहरीले रबरको गोली प्रहार गर्नुका साथै कुटपिट गरिरहेका दृश्य पनि सार्वजनिक गरिएका छन् । दुई महिना अघि विवादास्पद सुपुर्दगी सम्बन्धी विधेयक सरकारले ल्याएपछि हङकङमा आन्दोलन भड्किएको हो ।

सरकारले विधेयक स्थगन गरेकोे भएपनि आन्दोलन रोकिएको छैन । आन्दोलनकारीले सो विधेयक पुरै फिर्ता गर्नुपर्ने र हङकङका प्रमुख प्रशासक केरी लेमले राजीनामा दिनुपर्ने जनाउँदै आएका छन् ।  अहिले आन्दोलनकारीले पहिलाको आफ्नो मागलाई यथावत राख्दै प्रहरी ज्यादतीको छानबिन गर्न स्वतन्त्र छानबिनको माग समेत गरेका छन् ।

आइतबार अपरान्ह स्थानीय भिक्टोरिया पार्कमा प्रहरीले लगाएको प्रतिबन्धको बाबजुद प्रदर्शनकारी सडकमा उत्रिएपछि झडप भएको थियो । अवस्था तनावपूर्ण भएपछि प्रहरीले रबरका गोली र अश्रुग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो । 

कतिपय स्थानमा प्रहरी नै प्रदर्शनकारीको पोशाक लगाएर आन्दोलनकारीका माझमा पुगेर उनीहरुलाई गिरफतार गरेको पनि पाइएको छ । हङकङको अन्तर्राष्ट्रिय बिमानस्थलमा आइतबार तेस्रो दिनपनि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको थियो । प्रहरीले अधिक बल प्रयोग गरेको भनेर अधिकारकर्मीहरुले आलोचना गरेका छन् । (बीबीसीबाट) 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved