नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न

  • प्रकाशित मितिः आश्विन, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपाल र भारतबीच वर्षायाममा बढी भएको बिजुली भारत पठाएर त्यसको सट्टामा हिउँदमा बिजुली ल्याउने गरी इनर्जी बैंकिङको कार्यान्वयन गर्ने सहमति भएको छ । सोमबारदेखि भारतमा सुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सो सहमति भएको हो । नेपाल विद्युत् प्राधिकरणले गत साउनको अन्तिम सातादेखि एक साता २ सय ५० मेगावाट विद्युत् भारत निर्यात गरेर इनर्जी बैंकिङको अभ्यास गरेको थियो । यस्तै, रक्सौल–गोरखपुर प्रसारण लाइनमार्फत प्राधिकरणले ४५ मेगावाट विद्युत् विहारमा निर्यात गरिरहेको छ । भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ ।

यसैगरी बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न दुवै देश सहमत भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेका अनुसार सो परियोजना ८० प्रतिशत ऋण र २० प्रतिशत इक्युटी लगानीमा निर्माण गरिनेछ ।
यसका लागि अबको तीन महिनाभित्र संयुक्त लगानीको कम्पनी स्थापना गर्ने र ६ महिनामा ट्रान्समिसन सर्भिस एग्रिमेन्ट गरेर त्यसको तीन वर्षमा सम्पन्न गर्ने निर्णय भएको ऊर्जा सचिव घिमिरेले राजधानीलाई बताए । उनले भने, ‘कुशाहा–कटैयाका दोस्रो सर्किट नेपाल सरकारले नै बनाउनेछ । रक्सौल–परवानीपुरको पनि नेपाल खण्डको नेपालले र भारतीय खण्डको भारतले बनाउने सहमति भएको छ ।’
अहिले अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण ढाँचा टुंगो लगाई दुवै पक्षको हितमा निर्माण हुने गरी प्रस्ताव गरेको हो । यसअघि नेपालले आआफ्ना सरकारी पक्षबाट लगानी गरी निर्माण गर्ने प्रस्ताव गरेकोमा भारतले अस्वीकार गर्दै आएको थियो । अहिलेको प्रस्तावमा उक्त प्रसारण लाइन अलग्गै व्यापारिक कम्पनी गठन गरी निर्माण गर्ने, कम्पनीमा नेपालको आधा र भारतको आधा सेयर रहने उल्लेख छ । कम्पनीमा नेपालका तर्पmबाट विद्युत् प्राधिकरण र उताबाट पावर ग्रिड अफ इन्डिया रहने नेपालको प्रस्ताव छ ।

 

–इनर्जी बैकिङ कार्यान्वयनमा सहमति –अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि
–बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा

 

यो प्रसारण लाइनले २ हजार मेगावाटसम्म बिजुली बोक्छ । यो संरचना निर्माण भएपछि यसबाट बिजुलीको कारोबार भएन भने त्यसको भाडा नेपाल र भारत मिलेर बन्ने कम्पनीलाई तिर्नुपर्ने हुन्छ । यसरी भाडा तिर्दा प्राप्त हुने नाफा वा बिजुली नबनेर जोखिम पनि बाँडफाँट हुने भएकाले नेपाललाई घाटा नपर्ने गृहकार्य नेपालले गरेको छ । कुल १ सय ३५ किलोमिटर यो प्रसारण लाइनमध्ये १ सय २० किलोमिटर भारतीय खण्डमा पर्छ । यसको लागत ८ अर्ब ६१ करोड भारतीय रुपैयाँ छ । यसमध्ये भारतीय खण्डमा ५ अर्ब ९० करोड भारु र नेपाली खण्डमा २ अर्ब ३१ करोड भारु छ । हालको सहमतिअनुसार १ अर्ब २८ करोड लागत कम लाग्ने जनाइएको छ । नेपाल र भारतबीच यो प्रसारण लाइन निर्माणसम्बन्धी सहमति नभएसम्म अमेरिकी सरकारले दिन लागेको ५० अर्ब रुपैयाँ अनुदान रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा आउँदैन । एमसीसी कार्यान्वयनमा आउन यो प्रसारण लाइनका लागी भारतसँग सहमति गर्नुपर्ने जरुरी छ । एमसीसीले ४ सय केभी क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन, तीनवटा उच्च क्षमतायुक्त सबस्टेसन निर्माण र तीन सय किलोमिटर रणनीतिक सडक मर्मत गर्ने योजना छ ।

ऊर्जा सचिव घिमिरेका अनुसार इनर्जी बैंकिङको गाइड लाइनहरु थिएन, रेगुलेसनमा पनि थिएन । त्यसकारण, समस्या भइरहेको थियो । त्यसका लागि ऊर्जा मन्त्रालयले रेगुलेसनमा ल्याउने र अगाडि बढ्ने भन्ने सहमति भएको छ । त्यस्तै, भारतीय इनर्जी मार्केटमा नेपाललाई प्रवेश गर्न ‘कन्डक्ट अफ बिजनेस रुल’ मा भएको व्यवस्थाअनुसार छिमेकी राष्ट्रमा विद्युत् व्यापार कसरी गर्ने भन्नेमा भारतीय ऊर्जा मन्त्रालयले नियमहरु बनाएको छ । उसले ‘कन्डक्ट अफ बिजनेस रुल’ चाँडोभन्दा चाँडो प्रमाणित गरेर नेपाललाई इनर्जी मार्केटमा समेत प्रवेश गराउने प्रतिबद्धता गरेको छ ।
उनले भने, ‘लम्की–बरेली र दुहबी–पुरणिया ४ सय केभी प्रसारणलाइन निर्माण अघि बढाउन थप अध्ययन गरेर अर्को बैठकमा टुंगो लगाउने सहमति भएको छ भने टनकपुरमा ५० एमभीए क्षमता थप गरेर १०० एमभीएको ट्रान्सफर्मर जडान गरी भारतबाट ७०–८० मेगावाट विद्युत् ल्याउने सहमति भएको छ ।’
यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने सहमति भएको सचिव धिमिरेले बताए ।

-(राजधानी दैनिक)



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved