निषेधाज्ञामा पनि तयार भो ‘डान्सिङ विथ द स्टार नेपाल’

  • प्रकाशित मितिः भदौ, 23, 2077
  • पहिलो किताब संवाददाता

काठमाडौं / कोरोना संक्रमणका कारण पछिल्लो समय नेपालका टेलिभिजन च्यानलबाट टेली शृंखला तथा रियालिटी सोले निरन्तरता पाउन सकेका छैनन् । तर, यसैबीच पनि डान्सिङ रियालिटी सो डान्सिङ विथ द स्टारको नेपाली संस्करण ‘डान्सिङ विथ द स्टार नेपाल’ प्रसारण हुने भएको छ ।

निषेधाज्ञाबीच पनि कलाकारलाई पूर्ण रूपमा सुरक्षितसँग काम गराएर यो रियालिटी सोको केही भाग छायांकन सम्पन्न गरिएको आयोजक पक्षले जनाएको छ । यो रियालिटी सो अब २ असोजबाट हिमालय टिभीमार्फत नियमित प्रसारण हुने भएको छ । लोकप्रिय नेपाली सेलिब्रेटीहरूबीच नृत्य प्रतियोगिता रहने यो मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने आयोजक पक्षले जनाएको छ ।

‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो,’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने, ‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’
लक्ष्मणका अनुसार २६ शृंखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा उत्रनेछन् । हरेक साता हुने भोटिङमा कम नम्बर ल्याउने एक जना कार्यक्रमबाट बाहिरिँदै जाने पनि पौडेलले बताए । विजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

डान्सिङ विथ द स्टारको पहिलो सिजनमा अभिनेता प्रशान्त ताम्राकार, गायिका ज्योति मगर, नेपाल आइडलका पहिलो विजेता बुद्ध लामा, फुलन्देकी आमाको रूपमा परिचित हास्य कलाकार उमेश राई, पूर्वफुटबल कप्तान हरि खड्का, मोडल रक्षा श्रेष्ठ, अभिनेत्री सुमी मोक्तान, दृष्टीविहीन गायिका सृष्टि केसी, मैथिली फिल्मकी अभिनेत्री पूजा ठाकुर, टिकटकबाट चिनिएका दीपा–दमयन्ता र बालनृत्य कलाकार देवयान्सी बैदवार प्रतिस्पर्धीका रूपमा सहभागी छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले बनाएको नयाँ गाइडलाइनअनुसार दर्शकबिनै हामीले सुटिङ गरेका छौं,’ कार्यक्रमबारे हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउँदै कार्यक्रम प्रसारण गर्दै छौं ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved