अयोध्याबारे चर्चित इतिहासविद्को टिप्पणी

  • प्रकाशित मितिः भदौ, 24, 2077
  • पहिलो किताब संवाददाता

काठमाण्डौ (राजधानी दैनिक)/  वयोवृद्धा विश्व प्रसिद्ध भारतीय इतिहासकार प्राडा रोमिला थापरका अनुसार ‘जसरी गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा अशोक स्तम्भले नै प्रमाणित गर्दछ, त्यस्तै फैजावादस्थित अयोध्या रामचन्द्रको जन्मस्थल हो भन्ने कुराको प्रमाण अहिलेसम्म जुटेको छैन र त्यस्तो प्रमाण जुटाउन पनि कठिन छ ।’ ८८ वर्षीया थापरले वल्ये सिंगद्वारा लिखित ‘अयोध्या सिटी अफ फेथ, सिटी अफ डिसकर्ड’ नामक पुस्तकको विमोचन समारोहमा टिप्पणीकारको हैसियतले यो भनाइ व्यक्त गरेकी हुन् ।

प्राडा रोमिला थापर भारतको जवाहरलाल नेहरू विश्वविद्यालयको लामो सेवापछि अवकाश भएकी विश्व प्रसिद्ध प्रमाणमुखी इतिहासकार हुन् । उनको इतिहासलेखन प्रमाणमा आधारित भएकैले उनी विश्वमै प्रसिद्ध भइन् । उनी विश्व चर्चित इतिहासकार हुन् भन्ने कुरा उनले बेलायतको अक्सफोर्ड र एडिनवरा, अमेरिकाको सिकागो र ब्राउन, फ्रान्सको इनाल्को, दक्षिण अफ्रिकाको प्रिटोरिया र भारतकै कलकत्ता र हैदरावादजस्ता विश्व प्रसिद्ध आठ विश्वविद्यालयबाटै प्राप्त गरेको सम्मानार्थ विद्यावारिधिले प्रमाणित गर्दछ । सम्मानको उनको मुख्य आकर्षणको केन्द्र प्रमाणमुखी इतिहासलेखन नै थियो ।

वंशावली, दन्त्य कथा र जनश्रुतिमा होइन, तथ्यमा आधारित थापरको इतिहास लेखनकै कारण भारतकै कतिपय उच्च पदस्थ सांस्कृतिक, धार्मिक एवं राजनीतिक व्यक्तिले अहिले पनि थापरको आलोचना गर्दछन् । आलोचनाको कारण पनि स्वार्थमा आधारित भ्रमात्मक प्रचार मात्रै हो । तथापि, आलोचनाको परवाह नगरी तथ्यपरक इतिहास लेखेरै उनी विश्वमा चर्चित बनिन् । थापर मात्र होइन अन्य धेरै भारतीय इतिहासकार पनि छन्, जसले राम जन्मभूमि फैजावादस्थित अयोध्या नै हो भन्ने कुरामा आशंका गर्दै आएका छन् । वल्येसिंहले लेखेको उपरोक्त पुस्तकको नामैले पनि अयोध्या प्रमाणित होइन, विश्वास र विवादको सहर भएको पुष्टि गर्दछ ।

नेपालभित्रै पनि नाम कमाएका इतिहासविज्ञ धेरै छन् । तर, माडीस्थित अयोध्यापुरीका बारेमा केही महिना अगाडिबाटै बहस र चर्चा हुँदै आए पनि अधिकांश नेपाली इतिहासविद् भने आफ्नो प्रतिक्रिया व्यक्त नगरी मौन रहँदै आएका छन् । वास्तवमा मुलुकमा उत्पन्न भएको धार्मिक र ऐतिहासिक चर्चाको वास्तविक यथार्थता के हो ? भन्नेबारे रणभुल्लमा पर्दै आएका नेपालीलाई वास्तविकताको बोध गराउने दायित्व पनि इतिहासविद्कै हो । उत्पन्न भएको राष्ट्रको गौरव र मर्यादा सम्बद्ध विषय प्रसंग तथ्यपूर्ण हो÷होइन ? भन्नेबारे टिप्पणी गर्ने त इतिहासकारको कर्तव्य नै हो । सरकारले पनि इतिहासविज्ञको बौद्धिकतालाई राष्ट्रहितका निम्ति उपयोगमा ल्याउने वातावरण तय गर्नुपर्दछ । तर, यही आधारभूत मान्यतालाई नै छायामा पारी मुलुकका राजनीतिक नेताहरू नै इतिहासविज्ञ बन्नु, निरर्थक सतही प्रयासमा लाग्नु तथा तथ्यमा भन्दा भनाइमा बहकिनुले जनमानसको कुतूहलता सम्बोधन हुँदैन । यो कुरा सरकारमा रहने पदाधिकारीले बुझ्नु जरुरी छ ।

अध्योध्यापुरीका बारेमा स्तम्भकारले गरेको खोज अनुसन्धानको क्रममा प्राप्त पछिल्लो धार्मिक मान्यता, भौगोलिक एवं वस्तुस्थितिजन्य अवस्था, स्थानीय जनश्रुति तथा रामायणमा उल्लिखित विवरण र त्यसको वास्तविक यथार्थतालाई चर्चा र बहसको विषय बनाउने उद्देश्यले केही सान्दर्भिक विषयवस्तुलाई यहाँ प्रस्तुत गरेको छु । वाल्मीकि रामायणमा उल्लिखित कतिपय कुराहरू तथ्यसँग मेल खाँदैनन् । रामायणले रामलाई इच्छवाकु वंश कुलको मानेको छ । सोही वंशकुलको आधारमा रामायणको रचना भएको जनाइएको छ । साथै, वनवास लाग्ने क्रममा राम वेदश्रुति र स्यन्दिक नदी तरेर दक्षिण लाग्दा मनुले इच्छवाकुलाई दिएको धन्यधान्यले परिपूर्ण गाउँमा पुग्दा सीतालाई त्यो गाउँ चिनाइदिएको आधारले मनुकै छोरा इच्छवाकु हुन् भन्ने बुझिन्छ । तर, सोही रामायणमा इच्छवाकु, राजा सगरको कुल वंशमा उत्पन्न भएको बताइएको छ । इतिहासअनुसार पहिलो मनुकै आठ भाइ छोरामध्ये इच्छवाकु जेठा थिए । मनुको सेखपछि उनी मध्यदेशको राजा बने उनको ६५औं पिँढीका रामचन्द्र हुन् ।

रामायणले रामलाई इच्छवाकु वंश कुलको मानेको र सोही वंशकुलका आधारमा रामायणको रचना भएको जनाइएको छ

यसैगरी, वाल्मीकि रामायणअनुसार सत्य युगमा मनुले समग्र पृथ्वीमा शासन गर्दथे । उनका इच्छवाकु नाम गरेका जेठा पुत्र थिए । इच्छवाकुले आफ्नो कुललाई आनन्दित बनाएको कुरा अगस्थ ऋषिले रामलाई वनवासको क्रममा जानकारी गराए । तर, मनुले सत्य युगमा समस्त पृथ्वीकै राज्य गरेको कुरा भने दन्त्य कथामा आधारित देखिन्छ । यदि समग्र पृथवीकै राजा मनु थिए भने त्यसबेलाको आर्यवर्त क्षेत्रभित्रै मनुकै मध्य देशकै समकालीन अन्य राज्य विदेह, कारख, काशी र पौरव कसरी अलगै राज्य बने ? यी राज्य मनुलाई मध्य देशका वासिन्दाले राजा बनाउनुभन्दा अगाडिदेखि नै कायम थिए । यही समयमा युरोपियन महादेशतर्फ मनुको शासनकाल अगाडिबाटै वा इपू ४५०० तिर सुमेरु र इपू ४००० तिर बेबिलोन राज्यहरू विश्वकै सभ्य राज्यको रूपमा चिनिन्थे । इराकमा त विश्वकै पहिलो कानुन इराकका तेस्रो बादशाह उरहम्मको शासन कालमा इपू २१४५ मै प्रचलनमा ल्याई राज्य प्रशासन व्यवस्थित पारिएको इतिहासले पुष्टि गर्दछ । यसको साथै ऋग्वेदलाई हजारौं वर्षअगाडिको मानिए पनि यसको प्रमाणिक आधार हेर्ने हो भने साबिकको एसिया माइनर हालको टर्कीमा प्राप्त शिलालेखअनुसार ऋग्वेद इपू १४०० को प्रमाणित भएको छ । ऋग्वेदको अहिलेसम्मको प्राप्त भरपर्दो प्रमाणिक आधार यही हो ।

वाल्मीकि रामायणका अधिकांश कथनहरू अनुमान र कल्पनामै आधारित देखिएका छन् । रामायणअनुसार हनुमानले खोजी गर्दा लंकाको अशोक बाटिकामा भेटिएकी सीताले आफ्नो पहिचान खुल्ने मणिजडित औंठी रामलाई दिन भनी हनुमानलाई पठाइन् । इच्छवाकु वंश कुलको ६५औं पिँढीमा पर्ने रामचन्द्र ऋग्वेद कालका वा ईपू १४०० तिरकै भएको अनुमान हुन्छ तर ऐतिहासिक तथ्य हेर्ने हो भने मानिसले ईपू २०० तिरबाटै मात्र धातुका गहना, मुन्द्री, औंठी, माला, चुरा लगाउन थालेको आधारले करिब सोभन्दा १६०० वर्ष पहिलेको राम सीताको कार्यकालमा मणिकरत्न औंठी प्रचलनमै थिएन । यसैगरी रामले वनवासबाट फर्किएर अयोध्यामा १० हजार वर्ष राज्य गरे । रामको राज्यमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र सबै लोभ र लालचरहित थिए । झुटो कोही बोल्दैनथ्यो भन्ने कुरा वाल्मीकि रामायणमा उल्लेख छ । रामायणको यो भनाइलाई इतिहासले स्विकार्दैन । न त रामले १० हजार वर्ष नै राज्य गरे, न त्यसबेला मानिसलाई जातीयताको आधारमा चार वर्गमा वर्गीकरण नै गरिएको थियो । पेसा, व्यवसाय र जातीयताको आधारमा मानिसको वर्गीकरण भएको ५ सय वर्ष पनि पुगेको छैन ।

राम त चार समूहमा मानिस वर्गीकृत भएको समयभन्दा करिब ३ हजार वर्षअगाडिका हुन् । यसले रामयण रचनाकार वाल्मीकिकै भाषा र शब्दमा उल्लिखित छैन । यसलाई किताबी स्वरूप प्रदान गर्दै अहिलेको अवस्थामा ल्याइपु¥याउने माध्यम बन्दै आएका व्यक्तिकै अनुमान र कल्पनालाई रामायणमा स्थान दिएर मिठासयुक्त बनाई परिमार्जित गराउँदै ल्याएको कारण रामायण अहिलेको अवस्थामा आइपुगेको हो । वास्तवमा भगवान्प्रति आस्था र विश्वास राख्नु राम्रो कुरा हो । आस्था र विश्वासले मानिसलाई सकारात्मक सोच, नैतिकता, आत्मसन्तुष्टि र चिन्तामुक्त बनाउँछ । धर्मप्रतिको आस्था र विश्वास आफ्नो ठाउँमा महत्वपूर्ण मानिए पनि त्यसको प्रमाणित आधार भने मान्यता प्रतिकूल विवादास्पद र सन्देहास्पद पनि हुन सक्छ । यसलाई निराकरण गर्ने प्रमुख उपाय भनेकै खोज अनुसन्धान नै हो ।

वाल्मीकि रामायणमा आफैंमा बाझिएका वृतान्त अनेकौं छन् । जसमा वाल्मीकि अत्रि, भारद्वाज, अगस्त्य ऋषिहरूको आश्रम चित्रकुट आसपासको दण्डकारण्य जंगलभित्रकै तपोवन थियो भनिएको छ । सो स्थान फैजावादस्थित अयोध्याबाट धेरै दक्षिणमा पर्दछ । सोही रामायणको उत्तर काण्डमा वनवासबाट फर्केका राम सीताको राज्यभिषेक सम्पन्न भएपछि रामलाई अभिनन्दन गर्न चारै दिशालाई आश्रम बनाई बसेका ऋषिहरू अयोध्या आए । यस क्रममा उत्तर दिशाबाट आउने ऋषिमध्ये अत्रि र भारद्वाज पनि थिए भनिएको छ । वल्मीकि ऋषिको आश्रम माडीस्थित अयोध्यापुरीकै नजिक हो तर उनलाई दक्षिण दिशाबाट आएको बताइएको छ । जुन आफैंमा विवादास्पद छ । रचनाकार वाल्मीकिकै शब्दलाई परिमार्जित गराउँदै ल्याएको कारण माणीनजिकको वाल्मीकि आश्रम चित्रकुटमा बन्न पुग्यो । मनुको पालादेखि नै अयोध्यामा मानिसहरू झुट्टो बोल्दैनथे, सबै शुद्ध आचरणमा रहन्थ्यो । अपराधिक कार्य कोहीबाट हुँदैनथ्यो भन्ने कुरा रामायणमा उल्लेख छ । तर, मनुकै नाति, इच्छवाकुकै एक छोरा विद्यारहित र आज्ञापालक नभएकोले इच्छवाकुले उनको नाम दण्डक राखे ।

इच्छवाकुले दण्डकलाई अहिलेको महाराष्ट्रस्थित गोदावरी नदीदेखि मध्य प्रदेशको उत्तरी क्षेत्रमा पर्ने अहिलेको सतना जिल्लास्थित साबिकको चित्रकुटसम्मको राज्य दिए । सो राज्य दण्डक भनी चिनियो । सिकार खेलेर थकित भएका राजा दण्डक एकदिन शुक्राचार्यको आश्रममा पुगे । त्यहाँ दण्डकले शुक्राचार्य नभएको मौकापारी उनकी कुमारी छोरी आरजालाई अभद्र व्यवहार गरे । सो थाहा पाएर शुक्राचार्यले दण्डकको राज्य धुलाम्मे होस् भनी श्राप दिए । लगत्तै दण्डकको राज्य धुलाम्य भई जंगलमा परिणत भयो । त्यही घटना रामायणमा उल्लिखित आशयसँग मेल खाँदैन । त्यसपछि नै सो जंगललाई दण्डकारण्य भनियो । दण्डकारण्य क्षेत्रभित्र गोदावरी, नर्वदा, सोन नदीहरू पर्ने भएकोले यो स्थान पवित्र मानियो । राम पनि वनवासको क्रममा यही दण्डकारण्यमा पुगे । तर, राम पुगेको अवस्थामा दण्डकारण्य जंगलमा राक्षसको बस्ती थियो । राक्षस बस्तीको केन्द्रस्थानलाई जनस्थान भनिन्थ्यो । जनस्थानकै राक्षसको राजा रावणले त्यहाँबाटै सीतालाई हरण ग¥यो । आफैंमा बाझिएकै भए पनि रामायणमा उल्लिखित उपरोक्त कथनलाई अहिलेसम्म हामीले मान्दै आएका छौं । यो हाम्रो धार्मिक मान्यता हो ।

सीता भेटिएको खबर लिएर लंकाबाट फर्किएका बाँदर सेनाले ‘सराप’ पिएको मधुवन सुनसरीस्थित मधुवनै हो भन्ने जनश्रुति छ

रामायणअनुसार राम अयोध्याको राजा भएपछि निलम र मोती जडित अशोक वाटिकास्थित आफ्नो भव्य महल रामले सुग्रिवलाई दिए । लंकास्थित अशोक वाटिकामा वितण्डा मचाएर फर्किएका बाँदर सेनाले मधुवनमा आएर सराप पिए । आफूलाई फर्काउन चित्रकुट पुगेका भरतलाई खराउ दिएर फर्काइ राम चित्रकुट आश्रमबाट अत्रि ऋषिको आश्रम तपोवन पुगे भन्ने क्रममा नाम आएका अशोक वाटिका, मधुवन र तपोवन तथा अयोध्यापुरी र वाल्मीकि आश्रमसमेतको भौगोलिक अवस्था र स्थानीय जनश्रुतिका आधारमा हामी यो निष्कर्षमा पुग्न सक्छौं, जसलाई सोझै इन्कार गर्न सकिँदैन ।

तपोवन : तपोवन कुनै स्थान विशेषको स्थायी नाम होइन । वैदिक युगका ऋषि महर्षिहरू जंगलको एकान्त स्थलमा तपस्या गर्दथे । ऋषिले आश्रम बनाई तपस्यामा लीन भएको अनकन्टार जंगलको एकान्तस्थललाई तपस्यारत वन वा तपोवन भनिएको हो । जस्तो बाल्मीकिले तपस्या गरेको नारायणी नदी आसपासको आश्रमस्थल तपोवन, कौशिकी, विश्वमित्र, ऋष्यजंग, सृंगी ऋषिले तपस्या गरेको कोसी किनारको रामधुनीदेखि विष्णु पादुकासम्मको तपोवन र भारतकै यमुना नदी किनारको सुन्दर तपोवन आदि यी सबै ऋषिहरूको तपस्यास्थललाई चिनाउने क्रममा प्रयोग गरिएका तपोवन हुन् ।

अशोक वाटिका : यो पनि कुनै स्थान विशेषमा मात्रै सीमित रहने नाम होइन । वैदिक युगमा अशोक वृक्ष विशेष महत्वपूर्ण मानिन्थ्यो । सरसजावटको निम्ति आश्रम र बसोबास स्थलमा यो वृक्ष लगाएको हुन्थ्यो । धेरै अशोकको वृक्ष रहेको स्थानलाई अशोक बगैंचा वा अशोक वाटिका भनिन्थ्यो । जस्तो लंकास्थित रावणको अशोक वाटिका, पर्साको वीरगन्ज उपमहानगरपालिका–१० स्थित अशोक वाटिका आदि । रामले अयोध्यापुरीमा राज्यरोहण गरेपछि वीरगन्जस्थित अशोक वाटिकाको आफ्नो भव्य महल विशेष सहयोगी सुग्रिवलाई दिएका थिए भन्ने जनश्रुति छ । यसको यथार्थता केलाउँदै जानुपर्दछ ।

मधुवन : मधुवन पनि स्थान विशेषको स्थायी नाम होइन । ऋषि महर्षिलाई आकर्षित र प्रफुल्लित बनाउने प्राकृतिक रूपमा रमणीय, फलफूल र कन्दमुलले परिपूर्ण र एकान्त स्थलको आनन्ददायक वनलाई मधुवन भनिएको हो भन्ने जनश्रुति विश्वसनीय देखिन्छ । जस्तो वाल्मीकि आश्रम नजिकको नारायणी किनारको मधुवन, दण्डकारण्यस्थित मधुवन, भारतको राजस्थानस्थित मधुवन र राम लक्ष्मण शिक्षा प्राप्त गर्न विश्वमित्र ऋषिको आश्रम कोसी तटमा पुगेको मधुवन, जहाँ राम लक्ष्मणले यज्ञको रक्षा गरेको हुँदा त्यही यज्ञ स्थल नै अहिलेको सुनसरीस्थित रामधुनी धाम हो । सीता भेटिएको खबर लिएर लंकाबाट फर्किएका बाँदर सेनाले सराप पिएको मधुवन सुनसरीस्थित मधुवनै हो भन्ने जनश्रुति छ । यसर्थ, यस्ता कुराहरूको यथार्थता केलाउँदै जाने हामी सबैको दायित्व हो । उल्लिखित कुराहरू कति ठीक, कति बेठीक भन्ने टिप्पणी र बहस गर्दै हामी निष्कर्षमा पुग्न सक्छौं । जसले चर्चित इतिहासविद् प्राडा थापरको उपरोक्त टिप्पणीलाई माडीस्थित अयोध्यापुरीले प्रमाणित गराउन सक्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved