१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

  • प्रकाशित मितिः भदौ, 24, 2077
  • पहिलो किताब संवाददाता

बैतडी / बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । “हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ । यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन ।”

पीडित किशोरीसँगै उनका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन् । सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो । पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो । यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved