फलोअप – एसपी पक्राउ , डीएसपी र एसएसपी फरार ( सुन तस्करीमा संलग्न प्रहरी अधिकारी नाम सहित )

  • प्रकाशित मितिः बैशाख , 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करी र सनम हत्याकाण्डको विषयमा छानविन गरीरहेको गृहमन्त्रालयको छानविन समितिले बयानका लागि काठमाण्डौ बोलाएका एसपी बिकासराज खनाल पक्राउ परेका छन् भने अन्य दुई प्रहरी अधिकारी भने फरार भएका छन् ।

चितवनवाट बयानका लागि काठमाण्डौ पुगेका एसपी खनाल मंगलवार नै बयानका लागि गृहमन्त्रालय पुगेका थिए । उनको गोरे गिरोहसँग कनेक्सन देखिएकाले पक्राउ गरीसकेको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ । पक्राउ परेका एसपी खनालले विमानस्थलमा रहेको समयमा गोरेलाई सघाएको खुल्न आएको स्रोतले बताएको छ ।

मंगलवार नै बयानका क्रममा पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयको एक नम्वर गणमा राखिएको बताईएको छ । मंगलवार पनि बयान नसकिएकाले बुधवार वयान सकेर उनलाई पनि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याउने तयारी भएको बुझिएको छ ।

त्यसैगरी उनीसँगै बयानका लागि वोलाईएका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी संजय राउत मन्त्रालयवाट रिसाउँदै वाहिरीएपछि उनलाई पनि पक्राउ गर्ने तयारी भएको छ । मन्त्रालयको छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी छानविन समिती समक्ष उपस्थित गराउन भनेका राउत मंगलवार दिउँसो मन्त्रालय पुगेका थिए । मन्त्रालयमा लामो समय प्रतिक्षा गर्दा पनि बयान नभएपछि आफुलाई विना कसुर मानशिक यातना दिएको भन्दै डिएसपी राउत मन्त्रालयवाट बाहिरीएको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ ।

मन्त्रालयवाट वाहिरीए लगत्तै आफ्नो नम्वर बन्द गरेर हिडेपछि राउत मन्त्रालयवाटै फरार भएको भन्दै समाचार आएपछि गृहमन्त्रालयले डीएसपी राउतलाई पक्राउ गरी छानविन समिति समक्ष उपस्थित गराउन भनेको गृहमन्त्रीको निजि सचिवालयका एक सदस्यले पहिलो किताबलाई जानकारी गराएका छन् ।

उनले गृहमन्त्रालयले गरीरहेको छानविनलाई सहयोग नगरी डीएसपी राउत रिसाएर हिडेकाले उनलाई पक्राउ गरी बयान लिने तयारी भएको समेत जानकारी गराएका छन् । मन्त्रालयवाटै फरार भएको भनेर आएका समाचारमा सत्यता नरहेको जनाउँदै उनले मन्त्रालयको छानविन समितिको निर्देशन पालना नगरेकाले उनलाई पक्राउ गरेर अनुशन्धान अघि वढाउने तयारी भएको समेत उनले जानकारी गराएका छन् ।

यति ठुलो अनि जघन्य अपराधको विषयमा संलग्न देखिएका अधिकारीले आफुलाई वोलाएपछि सफाई दिनुको साटो अटेर गरी हिडेको विषयलाई गृहमन्त्रालय र छानविन समितिले गम्भिर रुपमा लिएको जनाउँदै उनले अव डीएसपी राउतलाई पक्राउ गरेरै बयान र अनुशन्धान अघि वढाउने तयारी भएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

एसपी खनाल , डीएसपी राउतसँगै विमानस्थलमा बसेका बेला गोरे गिरोह र सुन तस्करीमा सहयोग गरेको भनेर वयानका लागि बोलाईएका एसएसपी श्याम बहादुर खत्रीपनि विदा लिएर गएपछि सम्पर्कमा नरहेको बताइएको छ । मंगलवार नै वयानका लागि जानुपर्ने खत्री यो प्रकरणको छानविन भईरहेको समयमा विदामा बसेका थिए । विदामा बसेका उनी वयानका लागि नआएको र सम्पर्कमा नरहेको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ ।

एसपी खनाल , डीएसपी राउत र एसएसपी खत्रीसँगै यो प्रकरणमा अनुशन्धानको दायरामा तानिने बहालवाला प्रहरी अधिकारीको संख्या ७ पुगेको छ । यसअघि नै अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनी , डीएसपी प्रजीत केसी , सई बालकृष्ण संजेल र सई गजेन्द्र रावल अनुशन्धानको दायरामा तानेर गृहमन्त्रालयले बयान लिने काम सकेको छ । उनीहरु सवैलाई एक नम्वर प्रहरी गण नक्सालमा राखिएको बुझिएको छ । एक नम्वर गण वहालवाला प्रहरी अधिकारी विवादमा तानिए राखेर अनुशन्धान गर्ने गरीदैं आएको गण हो ।

सुन तस्करी र सनम हत्याको विषयमा भईरहेको छानविनका क्रममा यस अघि नै पुर्व डीआईजी गोवीन्द निरौला भने पक्राउ परीसकेका छन् । उनीसँगै छानविन समितिले पुर्व आईजीपीहरु उपेन्द्रकान्त अर्याल , प्रकाश अर्याल र एआईजीहरु बिरेन्द्रवावु श्रेष्ठ र बम भण्डारी समेतलाई बयानका लागि वोलाउने तयारी गरेको स्रोतले जानकारी गराएको छ ।

स्रोतका अनुशार सनम हत्याको समयमा भएको अपे्रशनको समयमा प्रहरीको नेतृत्वमा रहेको प्रकाश अर्याल र बम भण्डारीको विषयमा अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनीले कार्यक्षेत्र नाघेर धरान गएको विषय दुवैलाई जानकारी रहेको बयान दिएकाले उनीहरु छानविनको दायरामा तानिएका हुन् । प्रकाश अर्याल आफैं यस अघि सुन तस्करीको अभियोग लागेका व्यक्ति समेत हुन् ।

लामो समय देखि भईरहेको तस्करीको जालो खोतल्ने क्रममा उपेन्द्रकान्त अर्याल आईजीपी रहेको र बिरेन्द्रबाबु श्रेष्ठ एआईजी रहेको समयमा पनि सुन तस्करी भएको देखिएकाले उनीहरु समेतलाई छानविनको दायरामा ल्याउने गृहको समितिले तयारी गरेको बताईएको छ । श्रेष्ठ आफैं विमानस्थलमा प्रहरीको नेतृत्व गरेर समेत बसेका थिए । सो समयमा समेत सुन तस्करी हुने गरेको अनुशन्धानका क्रममा खुलेको छानविन समितिका एक अधिकारीले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved